अपहिल साइक्लिङमा सहभागी प्रतिस्पर्धीहरु ।

हेटौंडाः जेसीआई हेटौंडाको सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । मंगलबार पहिलो दिन बिहान हेटौंडा–२ स्थित सिचाईटोलदेखि मनकामना मन्दिरसम्म अपहिल साइक्लिङ प्रतियोगिता भएको छ ।

प्रतियोगितामा राजिव ठाकुर प्रथम, आशिष थापा द्वितीय र रविकृष्ण नकर्मी तृतीय भएका छन् । निर्धारित दूरी ठाकुरले १३ मिनेट ६ सेकेण्डमा, थापाले १५ मिनेट २१ सेकेण्ड र नकर्मीले १५ मिनेट २५ सेकेण्डमा पूरा गरेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः ९ हजार रुपैयाँ, ६ हजार रुपैयाँ र ३ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा १३ जनाको सहभागिता रहेको जेसीआई हेटौँडाका कार्यकारिणी उपाध्यक्ष एवम् जेसीज सप्ताह समारोहका संयोजक विवेक आनन्द न्यौपानेले जानकारी दिनुभयो ।

जेसीआई हेटौँडाका अध्यक्ष विकेश लाल श्रेष्ठको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका–२ का वडा अध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यमा सप्ताहव्यापी कार्यक्रमको उद्घाटन समारोह भएको थियो । कार्यक्रममा जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष राजेश मोहन प्रधानलगायत पूर्व अध्यक्षहरुको आतिथ्य रहेको थियो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंगलबार नै वक्तृत्वकला प्रतियोगिता हुनेछ ।