हेटौँडास्थित एक खोप केन्द्रमा भिटामिन ए र जुकाको औषधि खुवाउँदै महिला स्वास्थ्य स्वयंसेविका ।

हेटौँडाः राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत शुक्रबारबाट बालबालिकालाई भिटामिन ए क्याप्सुल जुकाको औषधी खुवाउन सुरु गरिएको छ । शुक्रबार र शनिबार दुई दिनमा मकवानपुर जिल्लाका ३२ हजार २ सय ४२ जना बालबालिकालाई भिटामिन ए र २९ हजार १ सय २२ जना बालबालिकालाई जुकाको औषधी खुवाइँदैछ ।

६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभएको छ । मकवानपुर जिल्लाका १० वटा पालिकामध्ये सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा १२ हजार ६ सय ६३ जना बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइँदैछ भने ११ हजार ४ सय ५३ जना बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ । सबैभन्दा कम ईन्द्रसरोवर गाउँपालिकाका ७ सय ८८ बालबालिकालाई भिटामिन ए क्याप्सुल र ७ सय ११ बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ । भिटामिन ए र जुकाको औषधि खुवाउन जिल्लाभर ४ सय ७१ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ ।