हेटौँडाः दसैं नेपाली समाजको प्रमुख पर्व हो । दसैंमा खाने, पिउने, घुम्ने, रमाउने अनेकौं योजना हुन्छन् । पछिल्लो समय उल्लेखित योजनासँगै एउटा वर्गको योजना हुन्छ उत्कृष्ट पुस्तक अध्ययन गर्ने । पुस्तक अध्ययनमा रुचि राख्नेहरुका लागि हेटौँडास्थित किताबघरले पुस्तक खरिदमा २० प्रतिशतसम्म छुटको योजना ल्याएको छ ।
हेटौँडा–४, भैरवरोडस्थित किताबघरले दसैँको अवसरमा पाँच हजार रुपैयाँ भन्दा बढीको पुस्तक खरिद गर्नेलाई एक वर्षसम्म २० प्रतिशत छुट दिने योजना ल्याएको किताबघरका संचालक छवि अनित्यले जानकारी दिनुभयो । यो योजना असोज ७ गतेदेखि सुरु भएको र असोज २४ गते फुलपातिसम्म कायम रहने उहाँले जानकारी दिनुभयो । किताबघर सामान्य समयमा १० प्रतिशत छुट दिँदै आएको छ । पठन संस्कृतिको विकास गर्न, गराउन किताब किन्ने, पढ्ने पाठकलाई प्रेरित गर्ने गरी योजना ल्याएको अनित्यको भनाइ छ । दसैं लक्षित गरेर चर्चित लेखकहरुका १५ भन्दा बढी नयाँ पुस्तक प्रकाशन भइसकेको छ ।
पहिलाको तुलनामा अहिले किताब किन्नेको संख्या बढदै गएको उल्लेख गर्नुहुँदै छवि अनित्यले भन्नुभयो, “२०७९ साल फागुन महिनामा किताबघर सञ्चालनमा आएपछि क्रमशः विभिन्न अवसरमा हामीले अफर ल्याएका छौं । सुरुका दिनमा पाठकको उपस्थिति र सकारात्मक प्रतिक्रिया प्राप्त हुन सकेको थिएन । अहिले केही सकारात्मक नतीजा देखिन थालेको छ ।” किताबघरले पुस्तकप्रति विद्यार्थी, शिक्षकसँगै आम सर्वसाधारणलाई आकर्षित गर्ने प्रयास गरिरहेको छवि अनित्य बताउनुहुन्छ ।
किताबघरले पुस्तकालय दिवस, शिक्षा दिवस, साक्षरता दिवसको अवसरमा विविध रचनात्मक कार्य गर्दै आएको छ । गत वर्ष किताबघरले १९ वटा विद्यालयमा पुस्तक प्रदर्शनी तथा मेला समेत आयोजना गरेको थियो । यो वर्ष पनि दसैं, तिहारपछि विद्यालयमा पुस्तक प्रदर्शनी र मेलाको आयोजना गरिने उहाँले बताउनुभयो । पठन संस्कृतिको महत्व बुझेसँगै पछिल्लो समय औपचारिक शिक्षा हासिल गर्दै गरेका विद्यार्थी र शिक्षकसँगै निजामति कर्मचारी, सेना, प्रहरी, स्वास्थ्य सेवाका साथै व्यवसायी, युवा, अभिभावक किताबघरमा पठनीय पुस्तकको खोजी गर्दै आउने क्रम बढेको छवि अनित्य बताउनुहुन्छ ।