हेटौँडाः छिमेकी जिल्ला चितवनको पर्सामा बिहिबार सम्पन्न दोस्रो संस्करणको ‘ओपन स्नुकर च्याम्पियनसीप टुर्नामेन्ट’ को उपाधि हेटौँडाका नितेश खण्डेलवालले जित्नुभएको छ । असोज ३ गतेबाट सुरु भई बिहिबार सम्पन्न फाइनल खेलमा काठमाडौंका विनोद श्रेष्ठलाई ६–० को सोझो सेटमा पराजित गर्दै हेटौँडाको लियम स्नुकर हाउसका सञ्चालक नितेशले उपाधि जित्नु भएको हो ।
चितवन जिल्लाको पर्सास्थित कानु कफि एण्ड स्नुकर हाउसले आयोजना गरेको प्रतियोगिताको उपाधि साथ नितेशले एक लाख रुपैयाँ नगदसहित शिल्ड प्राप्त गर्नुभएको छ । उपविजेता विनोदले नगद ३० हजार रुपैयाँसहित शिल्ड प्राप्त गर्नुभएको छ । गत वर्ष सम्पन्न पहिलो संस्करणको प्रतियोगिताको उपाधि पनि हेटौँडाकै अमर लामाले जित्नुभएको थियो ।
देशभरका २४ वटा स्नुकर हाउसबाट ६४ जनाको सहभागिता रहेको प्रतियोगितामा नितेशले पहिलो चरणमा पोखराका राम गुरुङलाई ३–२ ले जित्नुभएको थियो । दोस्रो चरणमा काठमाडौंका दिपेन्द्र जंग शाहीलाई ३–१ को सेटमा पराजित गर्नुभएका नितेशले तेस्रो चरणमा पोखराका नवीन गुरुङलाई ४–० को सोझो सेटले पराजित गर्नुभयो ।
चौथो अर्थात क्वार्टरफाइनल चरणमा काठमाडौंका फूर्वा शेर्पालाई ४–१ को सेटमा पराजित गर्नुभएका नितेशले पाँचौं अर्थात् सेमीफाइनल चरणमा काठमाडौंकै अजय सुनारलाई ५–३ को सेटमा पराजित गर्नुभयो । छैठौं अर्थात फाइनलमा काठमाडौंकै विनोद श्रेष्ठलाई पराजित गर्दै नितेशले उपाधि जित्नुभएको हो । पहिलो र दोस्रो चरण पाँच सेट, तेस्रो र चौथो ७ सेट, सेमीफाइनल ९ सेट र फाइनल ११ सेटमा खेलाइएको थियो ।