हेटौंडाः हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले महिलाहरुले आफ्नै पहिचान बनाउनुपर्ने बताउनुभएको छ । उहाँले पहिचान बनाउन शिक्षामा जोड दिनुपर्ने बताउनुभएको हो ।
बिहीबार हेटौंडमा आयोजित थारु महिलाहरुको महान पर्व जितिया (जितिया पावैन)को समापन कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुँदै नगर प्रमुख लामाले विश्व प्रविधिको युगमा दौडिरहेको प्रतिस्पर्धी जमानामा शिक्षा अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभएको छ । आफ्नो जातजातिको पहिचान जोगाउन कला संस्कृतिको जगेर्ना गर्न सबै लाग्नुपर्ने उहाँको भनाइ छ ।

थारु कल्याणकारी महिला सभा मकवानपुरकी अध्यक्ष द्रौपदी चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रममा थारु कल्याणकारी सभा मकवानपुरका सभापति सच्चिदानन्द चौधरी, सभाका पूर्वसभापति हरिलाल चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
थारु विद्यार्थी सभा मकवानपुरकी कोषाध्यक्ष मनिता चौधरीले सहजीकरण गर्नुभएको कार्यक्रममा हेटौंडा–१० का वडाध्यक्ष फुर्वा दोर्जे तामाङ र थारु कल्याणकारी सभाका विभिन्न पदाधिकारीहरुको आतिथ्य रहेको थियो ।

तराईबासी थारु महिलाहरुले जितिया पर्व विशेष महत्वका साथ मनाउने गर्दछन् । हरेक वर्ष आश्विन कृष्ण सप्तमीदेखि नवमीसम्म मनाइने यस पर्वमा विवाहित महिलाहरुले मातृवात्सल्य र भातृत्वप्रति माया र स्नेह जगाउन उपवास बस्ने गर्दछन् । सप्तमीको दिन शनिबार पर्न गए यस पर्वको छुट्टै महत्व हुने र यसलाई थारु भाषामा शुईध भनिने कार्यक्रममा जानकारी गराइएको थियो ।