हेटौँडाः पटक–पटक मिति तय गरेर पनि निर्वाचन हुन नसेको, अध्यक्ष र कार्यवाहक अध्यक्ष समेतले राजिनामा दिएपछि संकटमा परेको नेपाल पत्रकार महासंघले प्रदेश र जिल्ला अध्यक्षहरुको भेला गर्ने भएको छ । बुधबार महासंघका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्नुहुँदै यही असोज १९ गते प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरुको भेला आयोजना गर्ने निर्णय भएको जानकारी गराइएको छ ।
महासंघको २७औं महाधिवेशनपछि उत्पन्न विशेष परिस्थिति, २०८१ जेठ २६ गते, असार २२ र असोज ५ गते घोषणा गरिएका निर्वाचन हुन नसक्ने दुःखद् परिस्थिति रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि राजिनामा दिएपछि झनै जटिल मोडमा आइपुगेको र असोज १२ गते तोकिएको निर्वाचन पनि हुन नसक्ने परिस्थिति सिर्जना भएको महासचिव पुरीले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
मतदाता नामावलीसम्बन्धी विवाद र मतभेदकै बीचमा महासंघका ५३ शाखाका अध्यक्षहरूले विवाद निरुपणका लागि राष्ट्रिय भेलाको माग गरेको सन्दर्भमा बुधबार केन्द्रीय समिति, प्रदेश समिति अध्यक्ष र जिल्ला अध्यक्षहरूको परामर्श भेला भौतिक तथा भर्चुअल माध्यमबाट सम्पन्न भएको महासचिव पुरीले जानकारी गराउनुभएको छ । परामर्श भेलापछि कार्यवाहक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा सम्पन्न केन्द्रीय समितिको बैठकले जिल्ला÷प्रदेश अध्यक्षहरूको सल्लाह÷सुझाव परामर्शलाई समेत दृष्टिगत गरी यही असोज १९ गतेका दिन प्रदेश र जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । भेलाको स्थान यथाशीघ्र जानकारी गराइने बताइएको छ ।
महासंघले विवाद समाधानमा सहजीकरण गर्न महासंघका पूर्वसभापति डा. सुरेश आचार्यको संयोजकत्वमा पूर्वसभापतिद्वय तारानाथ दाहाल, विष्णु निष्ठुरी तथा पूर्वअध्यक्षहरू धर्मेन्द्र झा, शिव गाउँले, डा. महेन्द्र विष्ट र गोविन्द आचार्यलाई आग्रह गर्ने निर्णय गरेको छ । बैठकले अध्यक्ष विपुल पोख्रेल र कार्यवाहक अध्यक्ष रमेश विष्टले दिनुभएको राजिनामा अनुमोदन गर्दै उहाँहरूले महासंघमा दिनुभएको योगदानको कदरसहित धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।