कान्तिलोकपथको बकैया–१२, घट्टेपाखामा खसेको पहिरो ।

हेटौँडाः पहिरोका कारण हेटौँडा काठमाडौं जोड्ने छोटो दुरिको सडक कान्ति लोकपथ अवरुद्ध भएको छ । बुधबार राती भएको वर्षाका कारण मकवानपुरतर्फ पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राती १ बजे २० मिनेटको समयमा मकवानपुरको बकैया–१२, घट्टेपाखामा पहिरो खसेको थियो । सो सडक खण्डमा वर्षाको कारण सडक माथिबाट पहिरो खस्दा सवारी आवागमन पूर्णरुपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अवरुद्ध सडक खुलाउन सडक बिभाग, फाष्ट ट्रयाकसँग समन्वय भइरहेको र सडक खुलाउन दिनभर लाग्ने प्रहरीको भनाई छ । पहिरोका कारण बाटो अवरुद्ध हुँदा सवारी सात्रन र यात्रु मर्कामा परेका छन् ।