हेटौँडाः शिक्षा दिवसको अवसरमा आयोजना गरेको कविता प्रतियोगितामा विश्वनाथ सञ्जेल प्रथम हुनु भएको छ । गत बुधबार हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले आयोजना गरेको शिक्षक कविता प्रतियोगितामा सञ्जेल प्रथम हुनु भएको शिक्षा विकास महाशाखाका अधिकृत रमेश बिडारीले जानकारी दिनुभयो ।
प्रतियोगितामा सामुदायिक र संस्थागत गरी ११ वटा विद्यालयका ११ जना शिक्षकले “सपनाको सहर हेटौँडा” कविता वाचन गर्नु भएको थियो । प्रतियोगितामा चन्द्रोदय माविका शिक्षक विश्वनाथ सञ्जेल प्रथम हुनु भएको हो । प्रतियोगिताकै अवसरमा २०८० सालको एसईई परीक्षामा उकृष्ट नतिजा ल्याउन सफल सामुदायिक र संस्थागत विद्यालका विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको छ । उकृष्ट नतिजा ल्याउन सफल बालजागृति इंग्लिस सेकेण्डरी स्कूलकी रितिका छत्कुली र प्रगति माध्यमिक विद्यालयलाई सम्मान गरिएको उहाँले जानकारी दिनुभयो ।
यस्तै हेटौँडा मोर्डन आवासीय माविका स्वस्तिका दहाल द्वितीय, आनन्दभैरव आविका सागर तिमल्सिना तृतीय हुनु भएको छ भने नवोदय शिशु सदनका विधान आचार्य र तुलसीमेहर मेमोरियल स्कूलकी उर्मिला देवकोटा सान्त्वना हुनु भएको बिडारीले जानकारी दिनुभयो । कविता प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः १० हजार, सात हजार, पाँच हजार र तीन हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ ।