हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत हाँडीखोला युथ क्लब र सहिद स्मृति क्लब अन्तिम ८ मा प्रवेश गरेको छ । आइतबार हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा चाइनाक्वार्टरलाई ६–० गोलले हराउँदै हाँडीखोला अन्तिम ८ मा प्रवेश गरेको हो भने दोस्रो खेलमा प्रगतिशील युवा क्लबलाई ३–० गोलले हराउँदै सहिद स्मृति अन्तिम ८ मा प्रवेश गरेको हो ।
समूह घ बाट ६ खेलमा ४ जीत निकालेर २ खोल बराबरी खेलेको हाँडीखोलाले १४ अंक जोड्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो भने समूह चरणको ६ वटै खेलमा हार व्यवहोरेको चाइनाक्वार्टर तालिकाको पुच्छारमा रहँदै खेलबाट बाहिरिनु परेको छ । समान ६ खेलमा ४ जीत निकालेर २ खेल बराबरी खेलेको सहिद स्मृति १४ अंक जोडेर तालिकाको शीर्षस्थानमा रहँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो भने ५ खेलमा २ जीत निकालेर १ खेल बराबरी खेलेको प्रगतिशील युवा क्लब ७ अंक जोडेर तालिकाको चौथो स्थानमा रहँदै समूहचरणको खेलबाट बाहिरिएको छ ।
प्रतियोगिताअन्तर्गत समूह ‘क’ को विजेता बन्दै एफसी पोताला र उपविजेता बन्दै सक्षम युवा क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ । समूह ‘ख’ बाट विजेता बन्दै गोर्खा ब्वाइज क्लब र उपविजेता बन्दै न्यू डाँफे क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ । यस्तै, समूह ‘ग’ को विजेता बन्दै पदमपोखरी र उपविजेता बन्दै न्यू कम्बाइन क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार समूह चरणको अन्तिम खेलमा प्रतिभा युवा क्लब र युनाइटेन नाइनबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।