हेटौँडाः मकवानपुर ग्रिल तथा स्टील व्यवसायी संघको साधारणसभा सम्पन्न भएको छ । शनिबार संघका अध्यक्ष केशव प्रसाईंको सभाध्यक्ष तथा ग्रिल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष ठूलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभालाई सम्बोधन गनुहुँदै केन्द्रीय अध्यक्ष श्रेष्ठले व्यवसायी महासंघले सबै ग्रिल व्यवसायीलाई संगठित गरेको बताउनुभएको छ । उहाँले हार्डवेयरहरुको अनुगमन समिति बनाएर व्यवसायीको हक स्थापना गरेको बताउनुभयो । ७ वटै प्रदेशमा समिति बनाएर व्यवयासीहरुको हक र हितका लागि अगाडि बढ्ने योजना रहेको उहाँले बताउनुभयो । बागमती प्रदेशलाई नमुना व्यवसाय बनाउने उद्देश्य रहेको उहाँको भनाइ छ ।

साधारणसभामा आर्थिक वर्ष २०८०/०८१ मा ५ लाख ४७ हजार ४ सय ५२ रुपैयाँको प्राप्ति तथा भुक्तानी विवरण प्रस्तुत गरिएको थियो । संघका अध्यक्ष प्रसाईंले कामको व्यवस्थापन गर्नका लागि फरक–फरक उपसमिति बनाई कामहरुको बाँडफाँड गर्ने गरेको बताउनुभयो । व्यवसायीहरुलाई लाभान्वित हुने वातावरणको सिर्जना गर्नका लागि बीमा कार्यक्रमलाई निरन्तरता दिँदै ५ लाखबाट बढाएर ७ लाख पुर्याएको बताउनुभयो । दर्ता नगरी व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई दर्ता प्रक्रियामा लैजानका लागि पहल गरे पनि उक्त कार्यमा अपेक्षा गरेअनुरुप सफल नभएको उहाँले बताउनुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देललगायत विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।