बरामद गरेको सामग्रीबारे जानकारी गराउनहुँदै जिल्ला प्रहरी कार्यालयका मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजाल ।

हेटौंडाः मकवानपुरको रातोमाटेबाट अवैध भन्सार छलि गरी ल्याएको १ करोड रुपैयाँ बढीका सामग्री बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा–१५ स्थित रातोमाटे चौकीबाट भन्सार छलेर ल्याइएको १ करोड ३५ लाख रुपैयाँको लत्ताकपडा सहित २ जनालाई पक्राउ गरिएको हो ।

असोज २ गते दिउँसो ३ बजेको समयमा विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले रातोमाटे चेकपोष्टबाट सुनसरीबाट हेटौंडा हुँदै काठमाडौं जाँदै गरेको भारतिय ट्रकमा भन्सार छलेर ल्याइएको कपडा बरामद गरिएको हो ।

उहाँका अनुसार बिआर ०५ जीडी १३४३ नम्बरको भारतीय ट्रकलाई सुरक्षाजाँच गर्ने क्रममा अवैध कपडा फेला परेको थियो । ट्रकमा ३४५ बोरा आलुको भन्सार बिल काटेर प्रति बोरा ५० किलोको दरले २६४ बोरा आलु राखेर ट्रकको भित्री भागमा ७४ बोरा विभिन्न किसिममा तयारी कुर्ता, रोल सहितको सर्ट एवम् पाईन्टको कपडाहरु ल्याएको प्रहरी उपरिक्षक रिजालले बताउनुभयो ।

उक्त सामग्री सहित ट्रकका चालक भारतको बिहार मोतिहारी, थाना तुकालिया, पुर्वी चम्पारण सपहीका ३० वर्षीय जन्दार आलम र सहचालक सोही स्थानको बन्जरिया पुर्वी चम्पारण चौलाहा कलोनीका १९ वर्षीय मुना मियालाई पक्राउ गरिएको प्रहरी उपरिक्षक रिजालले बताउनुभयो ।

अवैध भन्सार छलि ल्याइएका लत्ता कपडाहरु, आलुका बोराहरु ट्रक समेत नियन्त्रणमा लिइ अनुसन्धान कार्य अघि बढाइएको उहाँले बताउनुभयो । बरामद गरिएका समानहरु, ट्रक र सो ट्रकलाई थप अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पाठाइने उहाँको भनाई छ ।