सि आशा फाउण्डेशनलाई समाज कल्याण शिक्षा पुरस्कार हस्तान्तरण गरिँदै ।

हेटौँडाः बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको संस्था सि आशा फाउण्डेशनलाई ‘समाज कल्याण शिक्षा पुरस्कार’ बाट सम्मानित भएको छ । हेटौँडामा वौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि विद्यालय सञ्चालन गर्दै आएको फाउण्डेशनलाई बुधबार राष्ट्रिय शिक्षा दिवसको अवसरमा नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक कार्यक्रमका बीच सम्मान गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सि आशा फाउण्डेशनकी संरक्षक एना वार्का न्यौपाने र अध्यक्ष कैलाश न्यौपानेलाई नगदसहित सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो । फाउण्डेशनका सल्लाहकार बालकृष्ण चौलागाईका अनुसार मन्त्रालयले फाउण्डेशनलाई २ लाख रुपैयाँ राशीसहित प्रशंसापत्र प्रदान गरेको छ । फाउण्डेशनले अहिले बौद्धिक अपाङ्गता, सडक बालबालिका एवम् एचआइभी एड्स संक्रमितका सन्तान, अनाथ, अशक्त र असहायका साथै अनाथ बालबालिकाहरुलाई पढाउँदै आइरहेको छ ।

फाउण्डेशनले हेटौँडा–७ मा १३ वर्षदेखि र काठमाडौंमा ३ वर्षदेखि आशा पाठशाला सञ्चालन गरी बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई पढाउँदै आइरहेको छ । हेटौँडास्थित फाउण्डेशनको पाठशालामा ७७ जना विद्यार्थी रहेको पाठशालाका अध्यक्षसमेत रहनुभएका चौलागाईले बताउनुभयो । उहाँका अनुसार फाउण्डेशनले यो वर्षमा बर्दिबास, पोखरा र दाङमा पनि सेवा विस्तार गर्ने तयारी गरिरहेको छ ।