हेटौँडाः मकवानपुरमा सोमबार २० जनामा डेंगु पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको विवरणअनुसार सोमबार २० जनामा डेंगु संक्रमण पुष्टि भएको हो । डेंगु संक्रमण पुष्टि हुनेमा हेटौँडा उपमहानगरपालिकाका १६ जना बासिन्दा रहेका छन् ।
मनहरी गाउँपालिकाका २ जना, मकवानपुरगढी गाउँपालिका र बकैया गाउँपालिकाका १÷१ जना बासिन्दालाई डेंगु पुष्टि भएको हो । चालु आर्थिक वर्षको साउन महिनायता जिल्लामा ३ सय ५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । डेंगु पुष्टि हुनेमा एक सय ५६ जना पुरुष र एक सय ४९ जना महिला रहेको तथ्याङ्कले जनाएको छ ।
जिल्लामा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकाका बासिन्दामा डेंगु पुष्टि भएको छ । हेटौँडाका मात्र २ सय ३९ जना बासिन्दामा डेंगु पुष्टि भइसकेको छ । यस्तै, साउनदेखि हालसम्म मकवानपुरगढी गाउँपालिकाका १६ जना, बागमती गाउँपालिकाका एक जना, कैलाश गाउँपालिकाका ३ जना, मनहरी गाउँपालिकाका २३ जना, भीमफेदी गाउँपालिकाका ८ जना र बकैया गाउँपालिकाका ९ जनामा डेंगु पुष्टि भएको हो । कैलाश गाउँपालिका र इन्द्रसरोवरमा भने डेंगु संक्रमण पुष्टि भएको छैन ।
डेंगु पुष्टि हुनेमा एक जनाको ठेगाना खुलेको छैन भने ५ जना अन्य जिल्लाका रहेका छन् । यस्तै, जिल्लामा डेंगुसँगै स्क्रब टाइफसको संक्रमण पनि बढ्दै गएको छ । सोमबार मात्र जिल्लामा स्क्रब टाइफस १० जनामा पुष्टि भएको छ । साउनयता जिल्लामा एक सय ४५ जनामा टाइफस संक्रमण पुष्टि भइसकेको छ । डेंगुजस्तै स्क्रब टाइफस पनि हेटौंडामै बढि पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाका ८३ जना, मकवानपुरगढी गाउँपालिकाका २१ जना, बकैया गाउँपालिकका १५ जना, मनहरी गाउँपालिकाका १२ जना, भीमफेदी गाउँपालिकाका ८ जनामा स्क्रब टाइफस पुष्टि भएको छ ।
बागमती गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र राक्सिराङ गाउँपालिकाका एक÷एक जनामा स्क्रब टाइफल संक्रमण पुष्टि भइसकेको छ । जिल्लाको थाहा नगरपालिकामा भने स्क्रब टाइफस संक्रमण देखिएको छैन । अन्य जिल्लाका २ जनामा स्क्रब टाइफस पुष्टि भएको कार्यालयको तथ्याङ्कले जनाएको छ ।