वक्तृत्वकलामा प्रतियोगितामा प्रथम आदित्य पराजुलीको तस्वीर ।

हेटौँडाः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) हेटौँडा उपमहानगर कमिटीको आयोजनामा भएको नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा हेटौंडा–५ स्थित सिद्धार्थ शिशु सदनका छात्र आदित्य पराजुली प्रथम हुनुभएको छ । बुधबार हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसको सभाहलमा भएको “समृद्ध नेपाल, सुखी नेपाली निर्माणमा विद्यार्थीको भूमिका” विषयक वक्तृत्वकलामा सिद्धार्थ शिशु सदनका पराजुली प्रथम हुनुभएको हो ।

हेटौंडा–५ स्थित जीएस निकेतनकी छात्रा एलिसा थपलिया द्वितीय हुनुभएको छ । प्रतियोगितामा हेटौंडा–७ स्थित तासिर इंग्लिस बोर्डिङका छात्र श्रीमत लामिछाने तृतीय हुनुभएको छ । यस्तै, हेटौंडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयकी छात्रा राधा विश्वकर्मा सान्त्वना हुनुभएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरुले क्रमशः २ हजार रुपैयाँ, १ हजार ५ सय रुपैयाँ र ७ सय ५० रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने सान्त्वनालाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा उपमहानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयका कक्षा–१२ सम्मका ११ जना विद्यार्थी सहभागी भएका थिए । मकवानपुर क्याम्पसका प्राध्यापक घनश्याम घिमिरे र सुरेश रेग्मीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको हो ।

अनेरास्ववियु नगर कमिटीका अध्यक्ष नवराज शर्मा पौडेलको सभाध्यक्षता तथा अनेरास्ववियु प्रदेश कमिटीका अध्यक्ष लालबहादुर बुढाथोकीको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको हो । कार्यक्रममा अनेरास्ववियु मकवानपुर जिल्ला अध्यक्ष अमृत बर्तौला, मकवानपुर क्याम्पसका प्रमुख यमबहादुर सिलवालको आतिथ्य रहेको थियो ।