हेटौंडाः हेटौंडा–काठमाडौं छोटोमार्गअन्तर्गत भीमफेदी गाउँपालिकाको जुरिखेतमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एकजनाको मृत्यु भएको छ । सडकखण्डबाट ५ सय मिटर तल खस्दा मोटरसाइकल चालक पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१५ का ४० वर्षीय वृतनारायण यादव र पछाडि सवार बारा जिल्लाको फेटा गाउँपालिका–७ का ३६ वर्षीय रमेश पाण्डे गम्भीर घाइते भएका थिए । गम्भीर घाइते मोटरसाइकल चालक यादवको उपचारको क्रममा सोमबार साँझ साढे ७ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो ४ बजेर ३५ मिनेटको समयमा काठमाडौंबाट हेटौंडा आइरहेको प्रदेशको २–०३–०१२ १ प ३४७४ नम्बरको मोटरसाइकल भीमफेदी–६, जुरिखेत ११ घुम्तीस्थित भीरबाट खसेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार घटना भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली खटिएर घाइतेहरुलाई उपचारका लागि हेटौंडा ल्याइएको थियो । पछाडि सवार पाण्डेको अवस्था मध्यम रहेको जनाइएको छ ।