हेटौँडाः बजेट नभएको भनी खर्चको दायित्व सिर्जना हुने कुनै काम नगर्न, नगराउन वडालाई सचेत गराएको हेटौँडा उपमहानगरपालिकाको सहयोगमा हेटौँडामा आइतबार तिज कार्यक्रम भएको छ । तिज कार्यक्रममा महिलालाई सहभागी हुन प्रेरित गर्न ३७ थान सारी समेत बाँडिएको छ । स्थानीय उत्पादनको प्रदर्शनी तथा व्यापार मेलाको बहानामा हेटौँडा–४ स्थित जाल्पादेवी महिला उद्यमी केन्द्रले हेटौँडा उपमहानगरपालिकासँग २० प्रतिशत लागत सहभागितामा २ लाख रुपैयाँ बजेटको कार्यक्रम गरेको हो ।

जाल्पादेवी महिला उद्यमी केन्द्रकी अध्यक्ष गीता कडरिया मैनालीले २० प्रतिशत लागत सहभागितामा हेटौँडा उपमहानगरपालिकाको २ लाख रुपैयाँ बजेटमा कार्यक्रम गरिएको जानकारी दिनुभएको छ । छोटो समयमा कार्यक्रम तय गरिएकोले पर्याप्त प्रचारप्रसार गर्न नपाएको मैनालीले बताउनुभयो । सारी किनेर दिन नमिल्ने भएकोले मायाको चिनो भनेर ३७ थान सारी बाँडिएको उहाँले बताउनुभयो । “उपमहानगरपालिकाको सहयोगमा तिजको अवसरमा स्थानीय उत्पादनको प्रदर्शनी तथा व्यापार मेलाको आयोजना गरिएको हो । उपमहानगरको मापदण्ड भन्दा बढी दरमा खर्च भएका छन्”, जाल्पादेवी महिला उद्यमी केन्द्रकी अध्यक्ष गीता कडरिया मैनालीले भन्नुभयो, “महिला उद्यमीलाई सारी नै भनेर बाँड्न नमिल्ने भएपछि हामीले मायाको चिनो भनेर बाँड्यौं ।”

कार्यक्रममा चार सय महिलाको सहभागिता रहेको उहाँको दावी छ । नगरप्रमुख मीना कुमारी लामा, उपप्रमुख राजेश बानियाँ, वडाअध्यक्ष फुर्वा दोर्जे लामा, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीसहित वडा सदस्यहरुको पनि सहभागिता रहेको थियो । व्यापार मेलामा २५ वटा स्टल महिला उद्यमीले आफ्ना स्टलहरु राखेको अध्यक्ष मैनालीको दावी छ ।
तिज कार्यक्रममा नाचगानका लागि ४ वटा कलाकारको समूहलाई २० हजार रुपैयाँ, साउण्ड सिस्टममा १५ हजार रुपैयाँ, स्टल राख्ने उद्यमीलाई यातायात खर्चवापत करिब २० हजार रुपैयाँ खर्च भएको अध्यक्ष मैनालीले बताउनुभयो । व्यानर लगायतका विविधतर्फ पाँच हजार खर्च भएको उल्लेख गर्नुहुँदै उहाँले ४ सय जनालाई खिर–पुरी, तरकारी, अचार खुवाइएको मैनालीले जानकारी दिनुभयो । कार्यक्रममा ३ सय ५० को हाजिरी नै रहेको र झण्डै चार सय महिलाले खाजा खाएको उहाँको भनाइ छ । स्थानीय उत्पादनको प्रदर्शनी तथा व्यापार मेलामा के कति व्यापार भयो भन्ने प्रश्नमा उहाँले यकिन जानकारी दिनु भएन ।



