नेपालको सडक असुरक्षित बन्दै गएको छ । सडकमा सवारी दुर्घटनाको अवस्था भयावह बन्दै गएको छ । देशभर सहज पहुँच भएको सडक यातायात क्षेत्रमा दुर्घटना बढ्दो छ । सडक यातायात अन्य सबै यातायातको प्राण हो । हवाई, रेल, जल, रोपवेजस्ता अन्य यातायात सेवालाई सडक यातायातले नै जोड्ने गर्दछ । अझ नेपालमा यातायात भन्नेवित्तिकै सडक यातायातलाई नै बुझ्ने गरिन्छ । रेल, जल, रोपवेजस्ता वैकल्पिक यातायात पूर्वाधार शून्यप्रायः रहेको र हवाई यातायात पनि सहज र सुलभ नभएकै कारण नेपालमा सडक यातायातको विकल्प सोच्न पनि सकिँदैन । देश संघीयतामा गएपछि संघ, प्रदेश र स्थानीय तीनवटै तहको सरकारले सडक पूर्वाधार विकासमा जोड दिँदै आएका छन् । जसरी सडक निर्माणलाई प्राथमिकता दिइएको छ, त्यसको तुलनामा सडकको गुणस्तर र सुरक्षामा भने पर्याप्त ध्यान पुग्न सकेको पाइँदैन ।

शुक्रबारमात्रै पृथ्वी राजमार्गको आँबुखैरेनी नजिक यात्रुवाहक बस मस्र्याङ्दी नदीमा खसेर दुर्घटना हुँदा २७ जना भारतीय नागरिकको ज्यान गएको छ । भारतीय बसमा भैरहवाबाट पोखरा हुँदै काठमाडौं आएका भारतीय तीर्थयात्री बोकेको बस शुक्रबार अपराह्न मुग्लिन–आँबुखैरेनी सडकखण्डको ऐना पहरानजिक सडकबाट मस्र्याङ्दी नदी किनारमा खसेको हो । दुर्घटनामा गम्भीर घाइते भएका १६ जनाको काठमाडौंमा उपचार भइरहेको छ । भारतको चारधामको तीर्थयात्रा गरेर नेपालको पशुपतिनाथ दर्शनका २ वटा बसमा भारतीय पर्यटक आएकामा एउटा वस दुर्घटना भएको हो । भारतको महाराष्ट्रदेखि इलाहबाद हुँदै चारधाम तीर्थयात्रा र नेपालको भ्रमण गरेर फर्किने योजनासहित नेपाल छिरेको भारतीय बस दुर्घटना भएर २७ जनाको ज्यान गएपछि भारतका सरकारले विशेष चासो देखाएको थियो । घाइते १६ जनालाई उपचारका नेपाली सेनाको हेलिकप्टरबाट शिक्षण अस्पताल काठमाडौं लगिएको थियो भने घाइतेको अवस्था बुझ्न र शव लिन भारतले मन्त्रीलाई पठाएको छ । घाइते भएका आफ्ना नागरिकलाई भेट्न र शव लिन भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडेस नेपाल आएकी हुन् । भारतीय सेनाको विशेष विमानले भरतपुरबाट मृतकको शव शनिबार लगेको छ ।

नेपालमा दिनहुँ विभिन्न प्रकारका सवारी दुर्घटनाको खबर सञ्चार माध्यमबाट सुन्न, देख्न र पढ्न पाइन्छ । सवारी दुर्घटनासम्बन्धी नेपाल प्रहरीको पछिल्लो १५ वर्षको तथ्यांकले देशभर ३ लाख १६ हजार २१२ सवारी साधन दुर्घटना भएको देखाउँछ । यस आधारमा दैनिक औसत ५५ सवारी दुर्घटना हुने गरेका छन् । उक्त अवधिमा सवारी दुर्घटनाबाट करिब ३३ हजार जनाको मृत्यु भएको छ भने ७२ हजार जना गम्भीर घाइते भएका छन् । दुर्घटनाको तथ्यांक विश्लेषण गर्दा पछिल्लो समय दैनिक औसत ७० वटा सवारी साधन दुर्घटना हुने र औसतमा दैनिक ८ जनाले ज्यान गुमाउने गरेका छन् । नेपालमा प्राकृतिक र मानव सिर्जित सबै प्रकारका प्रकोपबाट ज्यान गुमाउनेको संख्याभन्दा सडक सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या बढी छ ।

सवारी दुर्घटना शून्यमा झार्न नसकिए पनि न्यूनीकरण गर्न सकिन्छ र गर्नु पनि पर्छ । संयुक्त राष्ट्रसंघले सन् २०११ देखि २०२० लाई सडक दुर्घटनाबाट हुने मृत्यु र घाइते दर घटाउने दशकका रुपमा मनाउने प्रस्तावलाई नेपालले अनुमोदन गर्दै सन् २०२० भित्रमा ५० प्रतिशतले सडक दुर्घटनाबाट हुने मृत्यु र घाइते दर घटाउने प्रतिबद्धता गरेर सडक सुरक्षा कार्ययोजना लागू गरे पनि दुर्घटना र मृत्यु तथा घाइतेको संख्या भने बढ्दै गएको छ । २०२० फेब्रुअरीमा सडक सुरक्षासम्बन्धी स्वीडेनको स्टकहोममा भएको तेस्रो विश्व मन्त्रीस्तरीय सम्मेलनमा पुनः नेपालले सडक दुर्घटनाबाट मृत्यु र घाइते दर सन् २०३० सम्ममा ५० प्रतिशत र सन् २०५० सम्ममा शून्यमा झार्ने प्रतिबद्धता गरेको भए पनि सवारी दुर्घटनाको अवस्था भयावह बनिरहको छ । साँघुरो र अवैज्ञानिक सडकसँगै सवारी नियमन फितलो हुँदा वर्षेनि दुर्घटना बढ्दै गएको भए पनि यसतर्फ सरकारको पर्याप्त ध्यान पुग्न सकेको छैन ।