१. प्राविधिक शिक्षासँग सीप जोडिएको छ । सीपको उपयोग नै काम हो, जस्लाई हामी उत्पादन भन्दै आएका छौं । मानव सभ्यताको उद्गमकालदेखि नै मान्छेले भोक मेटाउन अर्थात बाँच्नका लागि खानेकुरा खोज्न थाल्यो । शिकार गर्न सिक्यो । शिकारमा हतियार प्रयोग गर्न अझ हतियारलाई धारिलो बनाउन सिक्यो । यी सबै सीप अर्थात प्राविधिक शिक्षाका नतिजा थिए । शिकारी सीपको जंगली युगबाटै मान्छे पशुपालन र कृषिमा जोडियो । यो नयाँ सीपको प्रयोग र रुपान्तरणको युग बन्यो । सयौं वर्षसम्मको प्रयोगबाट खारिएर नयाँ नयाँ ढंगले गर्दै आएका कामहरुलाई परिस्कृत, छरितो, राम्रो र आकर्षक बनाउने सीपहरु सिक्दै प्रयोग गर्दै मान्छेले औद्योगिक युगमा प्रवेश गरेको तथ्य मानव विकासका इतिहासले पुष्टि गरेका छन् ।
यहि औद्योगिक युगको विकसित अवस्थामा अनेकौं खोज तथा आविष्कार गर्ने मान्छेको समग्र क्षमता अभिवृद्धिको श्रेय प्राविधिक शिक्षालाई नै जान्छ । शिक्षामा प्राविधिक पक्ष झिकिदिने हो भने शिक्षाको सार हुँदैन भन्न सकिन्छ । खानेकुरा पकाएर खान योग्य बनाउने कामदेखि अन्तरिक्षसम्मको मानव जातिको यात्रामा प्राविधिक शिक्षाले नै काम गरेको छ । आज दुनियाँका विकसित भनिएका मुलुकले शिक्षाको प्राविधिक पक्षलाई प्राथमिकता दिएकै कारणले समृद्धि हासिल गर्न सकेका हुन् ।
२. कुनैबेला, बालाजु प्राविधिक शिक्षालयबाट प्राविधिक बनेको भनेपछि देशभरी खोजीखोजी काम दिईन्थ्यो । उनीहरुको सीप बिदेशबाट अध्ययन गरेर आएका इन्जिनियर भन्दा कम थिएन । त्यस्तै जिरीमा पढेको भनेपछि बोलाएर जागिर दिने प्रचलन हामीले सुनेकै हो । यी त प्रतिनिधि उदाहरण मात्र हुन् । काम गर्ने सीप, दक्षता, क्षमता र लगनशीलताका श्रोत भनेकै प्राविधिक शिक्षा हो । घरमा स्नातक गरेका छोराछोरीले चिया पकाउनु पर्दा साक्षर आमा नै गुहार्ने स्थिति, तरकारीमा नुनको मात्रा मिलाउन नसकेको यथार्थता, विद्युतको फ्युज गएर बत्ति नबल्दा इलेक्ट्रिसियन बोलाउनु पर्ने, धारामा सामान्य समस्या आए प्लम्बर खोज्नु पर्ने, घरको टिभि नेट नचल्दा तत्काल प्राविधिक कहाँ दौडिनै पर्ने, रुघा लाग्दा मेडिकल सम्झिनै पर्ने, मोटरसाईकल तथा अन्य सवारी साधनमा सानो समस्याका कारणले सम्बन्धित प्राविधिक कहाँ हो भनेर तनाव ब्यहोरेका हामीमा अझै प्राविधिक शिक्षाको प्रारम्भिक तथा आधारभूत सीपमूलक कक्षाहरु अनिवार्य शिक्षामा जोडेर जान नसक्नु भनेको हाम्रो दुर्भाग्य मात्र नभई पछौटेपनको पराकाष्ठा नै हो । यी प्रकृतिका दैनिक जीवनका अत्यावश्यक सीपहरुको आधारभूत सीप प्रत्येक नागरिकलाई प्रदान गर्ने गरी शिक्षा ऐनमा नै उल्लेख हुनै पर्दछ ।
३. प्राविधिक शिक्षा विधिवत संचालनका लागि आवश्यक व्यवस्था गर्ने उद्देश्यले वि.सं. २०४५ सालमा तत्कालीन सरकारले निर्माण गरेको कानूनबाट सिटिईभिटि स्थापना भएको हो । यसले सिटिईभिटिका आंगिक र सम्बन्धन प्राप्त संस्थाहरु मार्फत शिक्षा प्रदान गरिरहेको छ । आंगिक अन्तर्गत सिटिईभिटिकै पूर्ण अनुदानमा संचालित शिक्षालयहरु पर्दछन् । सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा अन्तर्गत सरकारी विद्यालयमा संचालित प्राविधिक शिक्षा भन्ने बुझिन्छ । नीजि क्षेत्रमा संचालित प्राविधिक शिक्षालयहरु सिटिईभिटिबाट स्वीकृति प्राप्त संस्थाहरु हुन् । सिटिईभिटिकै वेभसाईटको पछिल्लो तथ्याङ्क अनुसार, आंगिक प्रकृतिका शिक्षालय तथा तालिम केन्द्रहरु ६३ वटा छन् ।
अर्को, सम्बन्धन प्राप्तमा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टेक्स) भनिन्छ । यो प्रकृतिका स्कूलहरु ५७२ वटा पुगिसकेका छन् । अनि, सिटिईभिटिकै स्वीकृतिमा ४२९ वटा नीजि संस्थाहरु संचालित छन् भने सिटिईभिटिका पार्टनरसीप अन्तर्गत ४२ वटा संस्थाहरु संचालनमा भएको जनाइएको छ । यसरी कूल ११०६ वटा प्राविधिक शिक्षालयहरुले ८० भन्दा बढि प्राविधिक विषयहरुमा शिक्षा प्रदान गर्दै आइरहेको भनिएको छ । साथै, बहुप्राविधिक शिक्षालयहरु ५ वटा निर्माणाधिन पनि रहेका छन् । सिटिईभिटि अर्थात प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत मूलतः तीन प्रकारका प्राविधिक शिक्षा प्रदान गरिँदै आएको पाईन्छ ।
क. टिएसएलसी (एसएलसी÷एसईई वा सो सरह पश्चात १५ महिने कोर्स र ३ महिना ओजेटी । यो तालिममा आधारित नन एकाडेमिक । मूल विषयहरु (कृषि, डेरी, विद्युत, पशु, स्वास्थ्य, ईन्जिनियरिङ, वन, प्रविधि, आईटी आदि ।
ख. डिप्लोमा (एसएलसी÷एसईई वा सो सरह पश्चात ३ वर्षे कोर्स । यो लेभल उत्तीर्ण भनेको कक्षा १२ वा सो सरह समकक्षता प्रदान भएको प्रयोगात्मक र एकाडेमिक कोर्स । मूल विषयहरु (कृषि, पशु, डेरी, स्वास्थ्य, ईन्जिनियरिङ, वन, प्रविधि, आईटी, विद्युत आदि ।
ग. सीपमूलक तालिम (छोटो र लामो अवधिका तालिमहरु, कम्तिमा ३९० घण्टादेखि बढिमा १५०० घण्टासम्मका । मूल विषयहरु (कृषि, पशु, डेरी, स्वास्थ्य, ईन्जिनियरिङ, वन, प्रविधि, आईटी, विद्युत, होटल म्यानेजमेन्ट, श्रृंगार, फर्निचर÷काठ तथा बाँसको सामग्री उत्पादन र निर्माण, सिलाई बुनाई, डकर्मी, व्यवसाय संचालन आदि ।
४. सिटिईभिटिको स्थापना र उद्देश्य नै प्राविधिक तथा व्यावसायिक शिक्षाको विकास र विस्तारसँग जोडिएको बुझ्दा बुझ्दै यस्को अघोषित विघटन गर्ने मनसाय हो वा अर्को कुनै भित्रि कारणले गर्दा विकल्प खोजी सोही उद्देश्यका लागि वि.सं. २०७० सालमा तत्कालिन शिक्षा विभागले सामुदायिक स्कूलहरुमा कक्षा ९ देखि १२ कक्षासम्म प्राविधिक कक्षा संचालनको नीति कार्यान्वयनमा ल्याएको हो । नेपाल सरकारले वि.सं. २०७५ जेठ ६ गते शिक्षा विभागको नाम परिवर्तन गरी शिक्षा तथा मानव श्रोत विकास केन्द्र निर्णय गरे पश्चात पनि सरकारी स्कूलको प्राविधिक धारलाई निरन्तरता दिईयो । यस अन्तर्गतका विद्यालयहरुमा प्रशिक्षक दरबन्दी, प्रशासनिक तथा प्रयोगशाला लगायतका अनुदान सरकारले उपलब्ध गराउने भएकाले आकर्षण बढेको पाईन्छ । एकातिर, सरकारी अनुदान, अनि अर्कोतर्फ विद्यार्थीका लागि अवधिको कोणबाट सिटिईभिटिको भन्दा एक वर्ष कममा उक्त कोर्ष पूरा हुने भएकाले पनि धेरै विद्यालयहरु ९–१२ कक्षाको प्राविधिक धार संचालनमा दौडधुप नै गरेको देखियो ।
सरकारले पनि हरेक पालिकामा कम्तिमा १ प्राविधिक स्कूल भन्ने नारा नै ल्यायो । यो प्रकृतिका कक्षाहरु हाल १५९१ स्कूलहरुमा संचालन भइरहेको उल्लेख गरिएको छ । यस अन्तर्गत पनि सिटिईभिटिको डिप्लोमा झैं मूल विषयहरु कृषि, पशु, डेरी, ईन्जिनियरिङ, वन, प्रविधि, आईटी, विद्युत आदि विषयहरु अध्ययन अध्यापन हुँदैं आएको छ । अनमी, अहेव, हेअ, स्टाफ नर्स लगायतका स्वास्थ्य विषय भने यो प्रकृतिका सरकारी विद्यालयमा संचालन भएको पाईंदैन ।
६. अन्तमा, विद्यार्थीको अभावकै कारणले पछिल्ला वर्षहरुमा प्राविधिक शिक्षालयहरु संकटमा रहेको पाईन्छ । गएको वर्ष मात्रै पनि ३० भन्दा बढि शिक्षालयहरु बन्द नै भएको सिटिईभिटिले जनाएको छ । ईन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा बी.ई.मा तोकिएको कोटा नै रिक्त भएको समाचार बाहिर आएकै हो । यस वर्ष अझ धेरै शिक्षालयहरु खाली हुने संकेत एसईईको नतिजाबाट स्पष्ट भएकै छ । सिटिईभिटिको ३ वर्षे डिप्लोमा कोर्षका कारणले पनि विद्यार्थीको आकर्षण यतातर्फ घटेको भन्दा बिमति नहोला ।
सिटिईभिटिका पाठ्यक्रम, परीक्षा प्रणाली, प्रशासनिक संरचना र अरु धेरै कुराहरु सुधार्नै पर्ने स्थिति छ । अन्यथा यो संस्था आफैं विघटन हुनेमा शंका छैन । विद्यालय तहको प्राविधिक शिक्षालाई एकै छाता मुनी संचालन गर्ने सवाल आजको मुख्य मुद्दा हो । प्रदेश सरकार अन्तर्गत संचालन तथा व्यवस्थापनका लागि सिटिईभिटिको पुनर्संरचना गरी प्राविधिक शिक्षाको अभिभारा ऐन कानूनमै किटानी उल्लेख गर्नु सान्दर्भिक हुने विषयमा सम्बन्धित जिम्मेवार तहको ध्यानाकर्षणका लागि यो आलेख प्रस्तुत गरिएको छ ।
(लामिछाने सेवानिवृत्त शिक्षक हुनुहुन्छ ।)