हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँलाई ज्ञापनपत्र बुझाउन उपप्रमुखको कार्यकक्षमा पुगेका शिक्षक संगठनका नेताहरु ।

हेटौँडाः नेपाल राष्ट्रिय शिक्षक संगठनले बागमती प्रदेशका १३ जिल्लाका एक सय १८ वटै पालिकालाई ज्ञापनपत्र बुझाएको छ । आइतबार एकसाथ पालिकाहरुमा शैक्षिक सुधारका लागि २७ बुँदे मागसहितको ज्ञापनपत्र बुझाइएको हो । संगठनको हेटौँडा उपमहानगर कमिटी अध्यक्ष गोपीरमण प्याकुरेलले हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँलाई ज्ञापनपत्र बुझाउनुभएको छ । नगरप्रमुख कार्यव्यस्तताका कारण कार्यालयभन्दा बाहिर रहनुहुने भएपछि उपप्रमुखलाई ज्ञापनपत्र बुझाइएको हो ।

शिक्षक संगठनले पालिकाको कुल बजेटको कम्तिमा २० प्रतिशत बजेट शिक्षामा लगानी गर्नुपर्ने, विद्यालयमा कार्यरत लेखापाल, बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक महंगी बढेअनुसार समायोजन गर्नुपर्ने, विद्यालयमा विद्यालय कर्मचारीको दरबन्दी थप गर्नुपर्ने, नीतिगत तहमा संगठनको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरिएको छ । यस्तै विद्यालयमा प्रशासनिक खर्चको व्यवस्था गर्नुपर्ने, सबै तहका विद्यार्थीका लागि खाजा कार्यक्रम लागु गर्नुपर्ने, प्रसुती विदामा रहेका शिक्षकको स्थानमा सट्टा शिक्षकको व्यवस्था गर्नुपर्ने, वार्षिकरुपमा उत्कृष्ट शिक्षकलाई सम्मान गर्नुपर्ने, शिक्षकका लागि विषयगत तालिमको व्यवस्था गर्नुपर्ने, शुक्रबार बुक फ्री फ्राइडे बनाई विद्यार्थीलाई सीप र अतिरिक्त क्रियाकलापमा जोड्नुपर्ने माग पनि संगठनको छ ।

संगठनले अभिभावक शिक्षा प्रदान गर्नुपर्ने, पालिकाले विद्यालयको वर्गीकरण गरेअनुसार संस्थागत विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको सेवा सुविधा सुनिश्चित गर्नुपर्ने, शिक्षक बैंकको परीक्षामा स्थानीय विषय विज्ञलाई प्रयोग गर्नुपर्ने लगायतका माग गरेका छन् । नेपाल शिक्षक संगठन मकवानपुरका अध्यक्ष गोपीरमण प्याकुरेलले संगठनको तर्फबाट प्रदेशका सबै पालिकामा एकसाथ ज्ञापनपत्र बुझाउने कार्यक्रमअन्तर्गत हेटौँडा उपमहानगरपालिकामा पनि ज्ञापनपत्र बुझाइएको जानकारी दिनुभयो । उहाँका अनुसार कतिपय पालिकाले बालविकास सहजकर्ता, विद्यालय कर्मचारीका लागि संघीय अनुदानमा थप गरेर दिनुपर्ने रकम नदिएको पाइएकोले एकसाथ प्रदेशका सबै पालिकालाई सजग गराइएको हो । निश्चित अवधिमा आफ्ना माग पूरा गर्नुपर्ने भनेर किटान नगरिएको र विद्यालय तहको शिक्षाको सुधारका लागि आवश्यक पक्षहरुलाई समेटेर ध्यानार्षकण गराइएको उहाँको भनाइ छ ।

शिक्षक संगठनको ज्ञापनपत्र बुझ्नुभएपछि हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले शिक्षक संगठनका माग सकारात्मक भए पनि कतिपय माग पूरा गर्न कठिन रहेको बताउनुभयो । उहाँले सम्भव भएसम्मका मागहरुलाई सम्बोधन गरेर विद्यालय शिक्षालाई राम्रो बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । पालिकामा ज्ञापनपत्र बुझाउन नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर जिल्ला कमिटीका अध्यक्ष श्रीराम दाहाल, सचिव मुकुन्द न्यौपाने, बागमती प्रदेश समिति सदस्य सुनिल गौतम लगायतको सहभागिता रहेको थियो ।