गाईजात्रा प्रहसनबारे जानकारी गराउनुहुँदै वडाअध्यक्ष नवीन सिग्देलसहित आयोजक सिस्नुपानी नेपाल मकवानपुरका पदाधिकारी ।

हेटौँडाः सिस्नुपानी नेपाल मकवानपुरले आगामी भदौ ३ गते गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम गर्ने भएको छ । हेटौँडा उपमहानगरपालिका ४ न नम्बर वडा कार्यालयको सहयोगमा गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रमको आयोजना गर्ने भएको हो । शनिबार हेटौंडा–४, स्थित सिस्नुपानी मकवानपुर र साहित्य संगम मकवानपुरको संयुक्त सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मीन प्रसाद लामिछानेले कार्यक्रमको बारेमा जानकारी दिनुभएको छ ।

लेखन, कविता, प्यारोडी गायन, समसामयिक राजनीति, सामाजिक क्षेत्रमा नकारात्मक पक्षको न्यूनीकरण गर्नका लागि मनोरञ्जनात्मक ढंगले गाईजात्र विशेष कार्यक्रम गर्न लागेको लामिछानेले बताउनुभयो । कार्यक्रममा मनोरञ्जनात्मक क्यारिकेचर, प्यारोडी गायन, सामाजिक मुद्दा माथिको नाटक प्रस्तुती, पेचिलो हास्यव्यङ्ग्य अन्तरवार्ता, हास्यव्यङ्ग्य कविता, हास्यव्यङ्ग्य बजेट भाषण र वाद्यवादनको प्रस्तुती रहने उहाँले बताउनुभयो । राजनीतिक, सामाजिक, आर्थिक, प्रशासनिक लगायतको क्षेत्रमा हास्यव्यङ्ग्य मार्फत आवाज बुलन्द गर्दै आएको सिस्नुपानी नेपाल मकवानपुरले मकवानपुरमा २०७८ सालदेखि गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम आयोजना गर्दै आएको उहाँले बताउनुभयो । कार्यक्रम हेटौँडा–४ स्थित ओम्याक्स सिनेमा हलमा हुनेछ ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देलले स्थानीय कलाकारहरुको प्रतिभा, क्षमता र हरेक पक्षलाई देखाएर समाजको मुल्य मान्यतालाई झल्काउने उद्देश्यले बढीमा एक लाख रुपैयाँको बजेटमा कार्यक्रम गर्न लागेको बताउनुभयो । गाईजात्रा कार्यक्रममा मकवानपुरका विविध क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुको उल्लेख्य सहभागिता रहने र प्रवेश निशूल्क रहने वडाअध्यक्ष सिग्देलले बताउनुभयो । संस्थाले हास्यव्यङ्ग्य कविताको माध्यमबाट विभिन्न सन्देश प्रभाव गर्दै आएको अध्यक्ष सिग्देलले बताउनुभयो । वडाले संस्थासँग सम्बन्धित कार्यक्रमहरुमा सहकार्य गरेर सहयोग गर्दै आएको उहाँको भनाई छ । सिस्नुपानीका अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षमा भएको पत्रकार सम्मेलनमा सल्लाहकार श्याम कुमार बानियाँ, साहित्य संगमका अध्यक्ष डीबी बर्तौला लगायत विभिन्न साहित्यकारहरुको उपस्थिति रहेको थियो ।