लागुऔषध चरेससहित पक्राउ परेका सिंह र चौधरी ।

हेटौँडाः लागुऔषध चरेससहित २ जना भारतीय नागरिकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

गत बिहिबार मध्यान्ह १२ बजेको समयमा ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले थाहा नगरपालिका–३ सिखरकोट बजारमा दुम्सिखर्कबाट हेटौँडा जाँदै गरेको ना ४ ख ४५६७ नम्बरको बसलाई रोकेर सुरक्षाजाँच गर्दा लागुऔषध चरेससहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले भारतको सितामडीका ४५ वर्षीय सुदिर सिंह, ६८ वर्षीया रेनुदेवी चौधरीलाई ६ केजी लागुऔषध चरेससहित पक्राउ गरेको जनाएको छ । प्रहरीले मकवानपुर जिल्ला अदालतबाट २० दिनको म्याद अनुमति लिई सिंह र चौधरीलाई हिरासतमै राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।