राष्ट्रिय परिचयपत्रको तस्वीर ।

हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक वर्षदेखि राष्ट्रिय परिचयपत्र वितरण गरिरहेको छ । कार्यालयमा अहिले आफ्नो परिचयपत्र लिन आउनेको संख्या भने न्यून देखिएको छ ।

गत वर्षको साउनबाट कार्ड वितरण गर्न सुरु गरेपनि हालसम्म २ हजार ४ सय ६९ जनाले मात्र कार्ड लिएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरका राष्ट्रिय परिचयपत्र फाँटका कम्प्युटर अपरेटर सगुन पुडासैनीका अनुसार अहिले परिचयपत्रको कार्ड लिन आउनेको संख्या न्यून देखिएको छ । प्रशासन कार्यालयले २५ हजार जनाबाट राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलनको क्रममा उल्लेख फोन नम्बर र इमेलमा म्यासेज पठाए पनि परिचयपत्र लिन कम संख्यामा आउने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार मकवानपुरमा अहिले ४८ हजार थान परिचयपत्र आइसकेको छ ।

परिचयपत्रको महत्व नबुझ्दा लिन आउनेको संख्यामा कमी आएको हुनसक्ने पुडासैनीको भनाइ छ । परिचयपत्र बनाएका अधिकांश विदेश गइसकेका हुनसक्ने र वृद्धवृद्धाहरुलाई थाहा नभएका कारण पनि लिन नआएको हुनसक्ने उहाँले बताउनुभयो । भविष्यमा सबै सेवा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य हुने अवस्था बन्न सक्ने भएकाले समयमा आफ्नो परिचयपत्र लिन उहाँले आग्रह गर्नुभयो । म्यासेज प्राप्त भएका सेवाग्राहीले आफ्नो नागरिकताको सक्कल प्रमाणपत्र र राष्ट्रिय परिचयपत्रको फोटो खिचाएपछि दिएको विवरणको कागज लिएर आएपछि परिचयपत्र लिन सकिनेछ ।