हेटौँडाः हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कुलले सघन पठन संस्कृतिको विकासका लागि शिक्षकहरुलाई तालिमको आयोजना गरेको छ । विद्यालयमा अध्यापनरत शिक्षकहरुका लागि तालिमको आयोजना गरिएको हो । तालिममा ५० जना शिक्षकहरूको सहभागिता रहेको थियो । तालिममा काठमाडौंस्थित मिलेनियम स्कूलकी संस्थापक प्रिन्सीपल कविता अर्यालले सहजीकरण गर्नुभएको थियो ।
तालिममा पठन संस्कृतिको विकास गर्न शिक्षकले विद्यार्थीका लागि पुस्तक छनोट गरेर उपलब्ध गराउनुपर्नेमा जोड दिइएको थियो । बालबालिकाको उमेर अनुसारको पुस्तक छनोट हुनुपर्ने, विद्यार्थीले अध्ययन गरिरहेको कक्षाअनुसारको पुस्तकको आकार निर्धारण गर्नुपर्ने, बालबालिकाको रूचि पहिचान गर्नुपर्ने प्रशिक्षक अर्यालले जानकारी गराउनुभयो । विद्यार्थीका लागि उपयुक्त पुस्तक छनोट गर्न शिक्षकले प्रसस्त अध्ययन गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।
तालिमको समापनमा विद्यालयका प्रिन्सीपल विनोद सुवेदीले पठन संस्कृतिको विकास गर्न विद्यालयले सक्दो प्रयास गरिरहेको, विद्यार्थीको अध्ययन र लेखनका लागि पर्याप्त सहजीकरण र प्रोत्साहन गरिरहेको जानकारी दिनुभयो । आगामी दिनमा पनि विद्यार्थीको पठन संस्कृतिको विकास गर्दै प्रभावकारी सिकाईको विकास गर्न विद्यालयले सक्दो प्रयास गर्ने प्रिन्सीपल सुवेदीले स्पष्ट पार्नुभएको छ ।