हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकाबाट मौका (ग्रेडवृद्धि) परीक्षामा २ सय ५३ जनाले फारम भरेका छन् । गाउँपालिकाभित्र रहेको ५ वटा माध्यमिक विद्यालयबाट ३ सय ११ जनाले मौका परीक्षा दिन पाउने भए पनि २ सय ५३ जनाले फारम भरेको शिक्षा शाखा प्रमुख प्रमोद राईले जानकारी दिनुभयो ।
२०८० सालको एसईई परीक्षामा ३ सय ३९ जना सहभागी भएका थिए । परीक्षामा २७ जनामात्र उत्तीर्ण भएका थिए । अनुत्तीर्ण सबैले मौका परीक्षा दिन पाउने भए पनि ५८ जना विद्यार्थीले परीक्षा फारम नभरेका हुन् । परीक्षा आउँदो बुधबारदेखि सुरु हुँदैछ ।
मौका परीक्षाका लागि तीनवटा विद्यालयका शिक्षकहरु मिलेर एउटा विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गर्दै आएका छन् । राईका अनुसार गाउँपालिकामा रहेको ५ वटा विद्यालयका विद्यार्थीहरुका लागि अत्तिरिक्त कक्षा सञ्चालनमा अभिभावक र विद्यार्थीहरुलाई जानकारी गराउँदा खासै चासो नदिएका कारण सबै विद्यालयमा पठनपाठन नगरिएको उहाँले जानकारी दिनुभयो । शिक्षकहरुले पढाईप्रति चासो दिएर पढ्न चाहने विद्यार्थीहरूका लागि अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ३ करोड ६० लाख ८३ हजार रुपैयाँ बजेट शिक्षाका लागि छुट्याएको र संघीय स्रोततर्फ १८ करोड बजेट रहेको छ । पालिकाले ३५ लाख रुपैयाँ बजेट अनुदानस्वरुप पालिकाभित्र रहेका ५० वटा विद्यालयहरुमध्ये धेरै आवश्यकता भएकालाई बाँडफाँड गर्ने उहाँले जानकारी दिनुभयो । पालिकाले यस आर्थिक वर्षदेखि विद्यालयहरुलाई प्रश्नपत्र र उत्तरपुस्तिका उपलब्ध गराउने भएको छ ।
गाउँपालिकामा पहिलो त्रैमासिक परीक्षा सकिएको छ । गाउँपालिकाको शैक्षिक क्यालेण्डर अनुसार असार २३ गतेदेखि ३० गतेसम्म परीक्षा सञ्चालन भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राईले जानकारी दिनुभयो । गाउँपालिकाले भदौ ३ गतेदेखि नियमित कक्षा सञ्चालन गर्नेछ । गाउँपालिकाभित्रका कुनै पनि विद्यालयमा अतिरिक्त कक्षाहरु सञ्चालन नभएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार वर्षे बिदा शिक्षकले पाउने बिदा भएको, टाढाटाढाबाट विद्यालयमा पढाउन आउने शिक्षकहरु बिदाको अवधिमा परिवारसँग बस्न चाहने, भूगोलको हिसाबले विद्यार्थीहरुलाई आवतजावतमा समस्या, पालिकाको क्यालेण्डरमा तोकेको बिदा भएको आदि कारण रहेको छ । गाउँपालिकाले कक्षा सञ्चालनको लागि बजेट नछुट्याएको र अनिवार्य तथा निःशुल्क शिक्षा गाउँपालिका घोषणाका कारण अभिभावकसंग पैसा लिन नमिल्ने भएकाले कक्षा सञ्चालन नभएको हो ।
गाउँपालिकाभित्र रहेको एउटा विद्यालयमा मात्र आवश्यक दरबन्दीका मावि शिक्षक रहेको र बाँकी विद्यालयमा दरबन्दी शून्य रहेको उहाँले बताउनुभयो । गाउँपालिकाले २०७५ सालबाट ३१ जना शिक्षक विद्यालयमा उपलब्ध गराएको थियो भने यस वर्ष २ जना थप गरी ३३ जना बनाएको छ ।
गाउँपालिकामा ५ वटा मावि, ११ वटा निमावि र ३४ वटा प्रावि गरी ५० वटा सामुदायिक विद्यालयहरू रहेका छन् । गाउँपालिका भरिका सामुदायिक विद्यालयमा यसवर्ष ८ हजार जना विद्यार्थी अध्ययनरत रहेका छन् । गतवर्ष ८ हजार २ सय जना विद्यार्थी अध्ययनरत रहेका थिए ।