सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको बसको तस्वीर

हेटौँडाः हेटौँडा–८, कमानेस्थित चन्द्रोदय माविलाई विद्यालय बस प्राप्त भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको बस विद्यालयलाई प्राप्त भएको विद्यालयका प्रधानाध्यापक जीधराज ढकालले जानकारी दिनुभयो ।

विद्यालय बस मंगलबार विद्यालयमा ल्याइएको छ । मन्त्रालयको शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयलाई बस प्राप्त भएको हो । विद्यालयले गत आर्थिक वर्षको कार्तिक २२ गते सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा निर्देशनालयमा बस खरिदका लागि सम्झौता गरेको थियो ।

४१ सिट रहेको टाटा कम्पनीका बस खरिदमा मन्त्रालयले २४ लाख ९५ हजार रुपैयाँ उपलब्ध गराएको प्रधानाध्यापक ढकालले बताउनुभयो । उहाँका अनुसार उक्त बस वडा नम्बर ७, ८ र १५ का रुटमा सञ्चालन गरिनेछ । यसअघि भाडामा चलाइरहेको बसलाई विस्थापन गर्ने र अहिलेको नयाँ बस उक्त रुटमा सञ्चालन गर्ने उहाँले बताउनुभयो । विशेष साना कक्षाका लागि प्राथमिकता दिएर बस सञ्चालन गरिनेछ । बस सञ्चालन भएपछि साना कक्षामा विद्यार्थीको संख्या बढ्ने उहाँको भनाई छ । कक्षा १२ सम्म अध्ययन अध्यापन हुने विद्यालयमा १ हजार १ सय विद्यार्थी अध्ययनरत छन् ।