हेटौंडाः मकवानपुरको बकैयाँ गाउँपालिकाले किसानलाई खेतीमा प्रोत्साहन गर्न अनुदान दिने भएको छ । बुधबार एक सूचना जारी गर्नुहुँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले पालिकाले किसानलाई खेती प्रोत्साहनस्वरुप अनुदान रकम दिने बताउनुभयो ।
पालिकाको चालु आर्थिक वर्षको लागि स्वीकृत कार्यक्रमअन्तर्गत कोदो, फापर र सेतो सिमीमा अनुदान दिने भएको हो । कोदोमा १० प्रतिशत, फापरमा २० प्रतिशत र सेतो सिमीमा १० प्रतिशत अनुदान दिने श्रेष्ठले बताउनुभयो । किसानहरुलाई भदौ १२ गतेभित्रमा आवेदन दर्ताका लागि समय दिइएको उहाँले बताउनुभयो ।
किसानहरुले आफ्नो उत्पादन बिक्री गर्दा पालिकाले उक्त अनुदान रकम उपलब्ध गराउने छ । किसानहरुको उत्पादनलाई बजार दिन पालिकाले समन्वय गर्ने पनि श्रेष्ठले बताउनुभयो । यसले गर्दा किसानहरुले आफ्नो उत्पादनको उचित मूल्य पाउने उहाँको भनाइ छ ।
यसका लागि पालिकाले ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । किसानहरुको उत्पादन बढि भएमा र त्यो रकमले अनुदान दिन नपुगेको खण्डमा पछि कार्यपालिकाको बैठक बसेर थप रकम उपलब्ध गराउने पनि उहाँले बताउनुभयो । पालिकामा चालु आर्थिक वर्षमा कृषि तथा पशु शाखाका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।