हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरको ढुंगा, गिट्टी, बालुवा जिल्ला अनुगमन तथा समन्वय समिति मकवानपुरले चालु आर्थिक वर्षमा जिल्लाका स्थानीय तहहरुमा भएका नदिजन्य पदार्थको ठेक्का बन्दोवस्ती एवम् राजस्व संकलनको विवरण माग गर्ने निर्णय गरेको छ । अनुगमन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्षमा भएका उत्खनन्, ठेक्का बन्दोबस्ती तथा राजस्व संकलन सम्बन्धी विवरण माग गर्ने निर्णय गरेको हो ।
चालु आर्थिक वर्षमा स्थानीय तहमा उत्खनन् भएको नदिजन्य पदार्थको परिमाण, राजस्व संकलनको विवरण आगामी आर्थिक वर्षमा ठेक्का बन्दोबस्तीमा आवश्यक पर्ने साथै नदिजन्य पदार्थको व्यवस्थापनमा सहयोग पुग्ने हुनाले सोको विवरण माग गर्ने निर्णय गरेको अनुगमन समितिका संयोजक खुलालले जानकारी दिनुभयो । बैठकले जिल्लाका विभिन्न स्थानीय तहमा रहेका नदिजन्य पदार्थको मौज्दात प्रमाणिकरणका लागि प्रमाणिकरण समिति गठन गरेको साथै नदिजन्य पदार्थको स्टक नापजाँचका लागि प्रमाणिकरण समितिलाई सहयोग गर्ने गरी छुट्टै तीन सदस्यीय उपसमिति समेत गठन गरिएको छ । । स्रोत बिनाको नदिजन्य सामग्री ढुंगा, गिट्टी, बालुवाको मौज्दात प्रमाणिकरणका लागि मापदण्ड बनाएर काम गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । मौज्दात प्रमाणिकरण सम्बन्धी स्वीकृत ढाँचा अनुसार काम भए नभएको विषयमा समेत विवरण माग गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
बैठकले स्थानीय तहले नदिजन्य पदार्थको उत्खनन् गर्ने क्रममा गरेको वातावरणीय प्रभाव मुल्याङ्कन अनुसार काम गरे नगरेको, वातावरण संरक्षण कोष स्थापना गरे÷नगरेको साथै ईएमपीको विवरण माग गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । त्यस्तै जिल्लाको ईन्द्रसरोवरमा भएको उत्खनन्का विषयमा सम्बन्धित स्थानीय तहबाट रिपोर्ट माग गरेर थप निर्णय गर्ने तथा मकवानपुरगढी गाउँपालिकाको समस्याका विषयमा जिल्ला विपद व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको उहाँले बताउनुभयो । बैठकमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेल, मकवानपुरका दुवै डिभिजन वन कार्यालयका प्रमुखहरु, मकवानपुरका प्रहरी प्रमुख, सशस्त्र प्रहरीका प्रतिनिधिलगायत समितिका सदस्यहरुको सहभागिता थियो ।