मकवानपुरका प्रमुख जिल्ला अधिकारीमार्फत अर्थमन्त्रीलाई सुझावसहितको ज्ञापनपत्र बुझाइँदै ।

हेटौंडाः कोभिड–१९ का कारण उत्पन्न असहज परिस्थितिमा उद्यमी, व्यवसायीका समस्यालाई सम्बोधन गर्न माग गर्दै मकवानपुर उद्योग वाणिज्य संघले संघीय सरकारका अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारीमार्फत मंगलबार संघले ज्ञापनपत्र बुझाएको हो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल नेतृत्वमा व्यवसायीको एक समुहले मंगलबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालमार्फत अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

संघले अहिलेको समस्यालाई मौद्रिक नीतिमार्फत सम्बोधन गर्न आग्रह गरेको छ । कोभिड–१९ विरुद्ध संघले सरकारसँग गरेको सहकार्य स्मरण गराउँदै आगामी आर्थिक वर्षको बजेटमा पनि उद्योगी, व्यवसायीको पक्षमा सरकारले गम्भीर रुपमा योजना ल्याउन नसकेको जनाएको छ । संघले मौद्रिक नीतिमा समेट्नु पर्ने पक्षका विषयमा २७ बुँदे सुझाव समेत प्रस्तुत गरेको छ । संघले कोभिड–१९ बाट प्रभावित व्यवसायीको कर्जाको पुनर्संरचना गर्नुपर्ने, कर्जाको व्याजदर घटाउनुपर्ने, पुनर्कर्जा सुविधा उपलब्ध गराउनुपर्नेलगायतका सुझाव प्रस्तुत गरेका छन् ।

लकडाउन सुरु भएदेखि लकडाउन समाप्त भएपछिको ६ महिना अवधिसम्मको व्याजलाई पुँजीकरण गरेर कर्जाको पुनर्संरचना गर्नुपर्ने, अन्य सबैका लागि लकडाउन समाप्त भएको तीन महिनासम्मको व्याजलाई पुँजीकरण गरी कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण गर्नुपर्ने सुझाव दिएको छ । कर्जाको साँवा, व्याज भुक्तानी गर्ने समय थप्नुपर्ने, कर्जा भुक्तानीको म्याद २ देखि ५ वर्षसम्म थप्नुपर्ने, बचत र ऋणबीचको व्याजअन्तर ३ प्रतिशत कायम गर्नुपर्ने, कर्जाको व्याजदरलाई क्रमशः घटाउँदै लैजानुपर्ने र उत्पादनमुलक क्षेत्रको कर्जामा व्याजदर बेसरेट भन्दा माथि नबढ्ने गरी कायम गर्नुपर्ने पनि संघको सुझाव छ ।

लकडाउन अवधिको व्याज मिनाहा गर्नुपर्ने, लकडाउन अवधिको लागि २० लाख रुपैयाँसम्मको कर्जामा सबै व्याज मिनाहा, एक करोड रुपैयाँसम्मको कर्जामा ५० प्रतिशत व्याज मिनाहा र पाँच करोड रुपैयाँसम्मको कर्जामा २५ प्रतिशत व्याज मिनाहा गर्नुपर्ने सुझाव संघको छ । लकडाउनकै कारण सञ्चालनमा आउन नसक्ने कम्पनि तथा फर्म बन्द गर्न चाहेमा बक्यौता व्याज मिनाहा गरी सहज बहिर्गमनको व्यवास्था गर्नुपर्ने माग राखिएको छ ।