हेटौंडाः मकवानपुरका निर्माण व्यवसायीहरुले आफूहरुले गरेको कामको भुक्तानी नपाएपछि अहिले सम्बन्धित निकायहरुसँग छलफल र वार्तालाई तीव्र पारिरहेका छन् । नयाँ आर्थिक वर्ष सुरु भइसकेको अवस्थामा गत आर्थिक वर्षमै सम्पन्न कामको भुक्तानी नपाएपछि अहिले व्यवसायीहरुले छलफल र वार्तालाई तीव्र पारिएको हो ।
गत असार २७ गते मकवानपुरका निर्माण व्यवसायीहरुले सडक डिभिजन कार्यालय हेटौंडाअन्तर्गत भएको ठेक्का सम्झौताअनुसार व्यवसायीहरुले समयमा नै म्याद थप भई प्रक्रिया पूरा गरी बिल पेश गर्दा भुक्तानी रोकेको भन्दै कार्यालयमा नै तालाबन्दी गरेर धर्ना दिएका थिए । कार्यालयले उक्त भुक्तानी हुन बाँकी रकम भुक्तानी गर्न वार्ता गर्न तयार भएपछि सोही दिन नै तालाबन्दी हटाइएको थियो ।
निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलका अनुसार आफूहरुसँग सडक डिभिजन र अन्य निकायहरुले दिनुपर्ने भुक्तानी अबको एक महिनाभित्र उपलब्ध गराउने भएपछि तत्कालका लागि विरोध र धर्नाको कार्यक्रम स्थगित गरेको छ । उहाँका अनुसार अहिले सडक डिभिजन र अन्य निकायहरुसँग निरन्तर वार्ता भइरहेको छ ।
एक महिनाभित्र पनि आफूहरुले भुक्तानी नपाए व्यवसायीहरुले थप सशक्त आन्दोलन गर्ने उहाँले चेतावनीसमेत दिनुभएको छ । उहाँले नयाँ प्रदेश सरकार बनेपछि आफूहरुले भुक्तानी पाउने आशामा रहेको बताउनुभयो । अहिले देशको नयाँ अर्थमन्त्रीले भुक्तानी दिन बाँकी रहेको निर्माण व्यवसायीहरुको रकम भुक्तानी दिने घोषणा गरेको अवस्थामा आफूहरुले भुक्तानी पाउनेमा विश्वस्त रहेको उहाँको भनाइ छ ।
मकवानपुरका निर्माण व्यवसायीहरुले सडक डिभिजन कार्यालयबाट २२ करोडभन्दा बढी भुक्तानी पाउन बाँकी रहेको छ भने अन्य सरकारी निकायहरुबाट २० करोडभन्दा बढी भुक्तानी पाउन बाँकी रहेको छ ।