हेटौँडाः बागमती प्रदेशको दुई जिल्लामा विभिन्न घटनामा परी तीन जनाको मृत्यु भएको छ । सिन्धुलीमा दुई र चितवनमा एक जना गरी तीन जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
शुक्रबार सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ मा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दिउँसो २ बजेको समयमा मध्य पहाडी लोकमार्ग अन्तर्गत देउरालीटारबाट सिन्धुलीतर्फ जाँदै गरेको प्रदेश २–००१ ह १३७१ नम्बरको अटो अनियन्त्रित भएर ३० मिटर तल खस्दा एक जनाको मृत्यु भएको हो । चालकसहित ८ जना सवार रहेको उक्त अटो एक पैदल यात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको थियो । दुर्घटना हुँदा सिन्धुलीको कमलामाई नगरपालिका–१३ की ३५ बर्षीया मन्दिरा पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृतक पौडेलकी छोरा र छोरीसहित अन्य पाँच जना घाइते भएका छन् । प्रहरीले अटो चालक गोलन्जोर–२ का ५५ बर्षीय भीम बहादुर ठकुरीलाई नियन्त्रणमा लिएको छ ।
यस्तै सिन्धुलीको सुनकोशी गाउँपालिका–३ मा एक पुरुष मृत भेटिएका छन् । मृतक सुनकोसी गाउँपालिका–५ का ३३ बर्षीय सुनिल तामाङ रहेको प्रहरीले जनाएको छ । बिहिबार हजुरबुबाको वृद्ध भत्ता बुझ्न वडा कार्यालयमा गएका तामाङ सम्पर्कविहिन भएका थिए । तामाङ घरदेखि २५ किलोमिटर उत्तर बाटोस्थित खोल्सामा मृत फेला परेका हुन् ।
बिहिबार चितवन जिल्लाको भरतपुर महानगरपालिका–४, धर्मचोकमा घरको जस्ता छाउने क्रममा खसेर घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको जितपुर सिमराका ३० वर्षीय कुन्दन चौधरी रहेको प्रहरीले जनाएको छ । चन्द्रमणि भण्डारीको घरमा जस्ता छाउने क्रममा लडेर घाईते भएका चौधरीलाई नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा साँझ ६ बजेर ५० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको हो ।