हेटौँडाः बागमती प्रदेशको ३ जिल्लामा एकैदिन ३ जना मृत्यु भएको छ । प्रदेशको रामेछाप, काभ्रेपलाञ्चोक र चितवन जिल्लामा ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–२, मझुवामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३२ वर्षीय प्रदीप रायमाझी रहेको प्रहरीले जनाएको छ । मंगलबार रायमाझी आफ्नै घरदेखि पर खुदुर्के भिरमा बाख्रा चराउने क्रममा बाटोबाट ३ सय मिटर तल खसेर घटनास्थलमा नै मृत्यु भएको थियो ।
यस्तै, काभ्रेपलाञ्चोक जिल्लाकचो बनेपा नगरपालिका–१२, बासडोलमा छतबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीय करण तामाङ रहेको प्रहरीले जनाएको छ । मंगलबार साँझ ६ बजेर १५ मिनेटको समयमा तामाङ आफ्नै १ तले घरको छतबाट पछाडी बलेसीमा लडेर मृत अवस्थामा फेला परेका थिए । अनुसन्धानको क्रममा तामाङ २० वर्षदेखि छारे रोगको बिरामी रहेका पाइएको प्रहरीले जनाएको छ ।
चितवन जिल्लाको कालिका नगरपालिका–८, देवीटारमा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया गैकली चेपाङ रहेको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो ४ बजेर ५० मिनेटको समयमा चेपाङ आफ्नै घरको ढोकामा ठोकिँदा घाइते भएकी थिईन् । घाइते चेपाङलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा उपचारको क्रममा साँझ ५ बजेर १७ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।