हेटौंडाः रक्तसञ्चार केन्द्र हेटौंडामा भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । शुक्रबार अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा ५ जना महिला र १५ जना पुरुषले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाले जनाएको छ ।
केहि दिनदेखि रगतको अभाव भएपछि रक्तसञ्चार केन्द्रले रक्तदान कार्यक्रम आयोजनाका लागि विभिन्न संघसंस्थालाई आह्वान गरेको थियो । रगतको मागअनुसार रक्तदान कार्यक्रम नभएको रक्तसञ्चार केन्द्रका प्राविधिक किशोर सापकोटाले बताउनुभयो । कार्यक्रमबाट पनि पर्याप्त रगत संकलण नभएको उहाँको भनाइ छ ।
अहिले केन्द्रमा जम्मा ५० युनिट रगत स्टकमा रहेको छ । सापकोटाका अनुसार दिनमा १५–२० पोका रगत वितरण हुने गरेको छ । रक्तदान कार्यक्रम गर्न केन्द्रले विभिन्न संघसंस्थालाई आह्वान गरिरहेको छ । पछिल्ला दिनहरुमा रक्तदान कार्यक्रम नभएको उहाँले बताउनुभयो । केन्द्रको रगत संकलन गर्ने मुख्य आधार रक्तदान कार्यक्रम हो ।
रक्तसञ्चार केन्द्रले आपतकालीन अवस्थामा फोन गरेर बोलाउँदा रक्तदान गर्न आउने रक्तदाताको पनि सूची तयार पारेर राखेको छ । सूचीमा भएका एक सय ५० जना रक्तदाताहरुलाई आकस्मिक अवस्थामा रक्तसञ्चार केन्द्रमै बोलाएर रक्तदान गराउने गरेको छ ।