हेटौँडाः बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई दीर्घकालिन असर पर्ने निर्णय नगर्न नेकपा एमालेले आग्रह गरेको छ । एमाले बागमती प्रदेश संसदीय दलले एक विज्ञप्ती जारी गर्दै प्रदेशमा दूरगामी महत्व राख्ने निर्णयहरु नगर्न सरकारलाई अनुरोध गरेको हो ।
बागमती प्रदेश सभामा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले मंगलबार एक विज्ञप्ती जारी गर्दै प्रदेश सरकार कामचलाउ हैसियतमा पुगिसकेकाले तत्काल महत्वपूर्ण निर्णयहरु नगर्न आग्रह गरेको हो । वर्तमान सरकार स्पष्ट अल्पमतमा परिसकेकाले मुख्यमन्त्रीलाई यथाशीघ्र राजिनामा गर्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।
नेता थपलियाले सहमतीय सरकार निर्माण गर्ने अभियानलाई साथ दिन अनुरोध गर्नुभएको छ । देशमा राजनीतिक स्थायित्व निर्माण गर्न केन्द्र र सम्पूर्ण प्रदेशहरुमा सहमतिको सरकार गठन गर्ने अभिप्रायले एमालेले पहलकदमी लिएको र सोही अनुसार प्रदेशमा समेत स्थायित्व सुनिश्चित गर्न सहमतीय सरकार निर्माणको वातावरण बनाउन सक्रिय रहेको उहाँको भनाई छ ।
एमालेको समर्थनमा गठन भएको जम्कट्टेल नेतृत्वको वर्तमान सरकारबाट ५ जना मन्त्रीहरुले सोमबार मात्र राजिनामा दिएको र सरकारको समर्थन फिर्ता लिएको उहाँले बताउनुभएको छ । एमालेले औपचारिक रुपमा सरकारको समर्थन फिर्ता लिएकाले तत्काल महत्वपूर्ण निर्णय नगर्न र सहमतीय सरकार गठनमा मुख्यमन्त्रीको सकारात्मक निर्णय गर्न उहाँले आग्रह गर्नुभएको छ ।