एसईई उत्तीर्ण विद्यार्थीको विदाई कार्यक्रमपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडाः हेटौँडा–५ स्थित ज्ञानदीप शिक्षा (जीएस) निकेतन माविले एसईईमा उत्तीर्ण विद्यार्थीलाई विदाई गरेको छ । सोमबार विद्यालयले एक कार्यक्रम गर्दै एसईई उत्तीर्ण गरेका १०९ जना विद्यार्थीलाई सम्मान गरी विदाई गरेको विद्यालयका सहायक प्रधानाध्यापक दीपक गौतमले जानकारी दिनुभयो ।

२०८० सालमा विद्यालयबाट ११८ जनाले एसईई दिएकोमा १०९ जना विद्यार्थी उत्तीर्ण भएका थिए । एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी र विषय शिक्षकलाई सम्मान गरिएको छ । राम्रो नतिजा ल्याउन सहयोग गर्ने ९ जना शिक्षकलाई सम्मान गरिएको हो । आगामी दिनको शुभकामनासहित विद्यार्थीलाई मायाको चिनोसहित सम्मान गरिएको थियो भने शिक्षकलाई प्रशंसापत्र प्रदान गरिएको छ । विद्यालयले गत बर्षको आधारभूत परीक्षामा उत्कृष्ट नतीजा ल्याउन सफल विद्यार्थी र १० जना विषय शिक्षकलाई पनि सम्मान गरेको छ ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रमिला सापकोटाको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा प्रमुख सीताराम कोइरालाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा वडा सदस्य रञ्जिता सिलवाल, ज्ञानदीप बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष ऋषिराम पोखरेल, प्रधानाध्यापक ईश्वरप्रसाद लामिछाने, शिक्षक–अभिभावक संघका अध्यक्ष प्रकाश बानियाँ, बाल समूहकी अध्यक्ष आकांक्षा निरौलाको पनि आतिथ्य रहेको थियो ।

विद्यालयले आगामी दिनमा अभिभावक भेलामा उत्कृष्ट नतिजा ल्याउन सफल दुई जना विद्यार्थी र उत्कृष्ट नतिजा आउने विषय शिक्षक हरुलाई नगद राशिसहित सम्मान गर्ने जनाएको छ । १० कक्षासम्म पठनपाठन हुने विद्यालयमा १ हजार ५ सय ४५ जन विद्यार्थी अध्ययनरत छन् ।