हेटौँडाः हेटौँडा–७, न्युरेनीस्थित पशुपति मन्दिर परिसरमा सोमबार वृक्षरोपण गरिएको छ । हेटौँडाबाट सञ्चालित ‘द क्यान्डिड स्टुडियो’ले पशुपति मन्दिर परिसरमा १ सय ५० वटा बिरुवा रोपेको हो । बेल, अमला, कागती, तेजपात, पारिजात, जामुनसहित १३ प्रकारका बिरुवा रोपिएको छ ।

स्टुडियोका कर्मचारी, वनविज्ञान क्याम्पसका विद्यार्थी, रोट्र्र्याक्ट क्लब अफ मकवानपुरका पदाधिकारी र स्थानीयको सहभागितामा वृक्षरोपण भएको हो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण घिमिरेले मन्दिर परिसरमा रोपिएका बिरुवाको संरक्षण गरी हुर्काउने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा न्यूरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश कार्की, संगालो टोल विकास संस्थाका अध्यक्ष रोम प्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो । बदलिँदो जलवायु परिवर्तनलाई मध्यनजर गर्दै यो बर्ष १ हजार बिरुवा रोप्ने लक्ष्य लिएको स्टुडियोका सञ्चालक ओम प्रसाद फुयालले जानकारी दिनुभयो ।

वृक्षरोपणपछि सामूहिक तस्वीर खिचाउँदै ।