हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय मावि परीक्षा केन्द्रमा शिक्षक सेवा आयोगले लिएको परीक्षा दिँदै । फाइल तस्वीर ।

हेटौँडाः शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षक छनोटको प्रक्रियाअन्तर्गत शनिबार प्रारम्भिक परीक्षा सञ्चालन गरेको छ । हेटौँडामा चितवन, सिन्धुली र रामेछाप जिल्लामा सेवा गर्ने गरी आवेदन दिएका परीक्षार्थीले प्रारम्भिक चरणको परीक्षा दिएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले परीक्षाको व्यवस्थापन गरेको थियो । इकाईले ९ वटा विद्यालयमा १५ वटा परीक्षा केन्द्र निर्धारण गरेको थियो । दिउँसो १ बजे सुरु भएर २ बजे परीक्षा सकिएको छ । परीक्षामा सहभागी हुन ३ हजार ७ सय ३० जनाले आवेदन दिएका मध्ये ३ हजार ४ सय ८ जनाले परीक्षा दिएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतमले जानकार दिनुभएको छ । आवेदन भरेका मध्ये ३ सय २२ जना परीक्षामा अनुपस्थित रहेको उहाँले बताउनुभयो ।

आयोगले प्रारम्भिक परीक्षाको नतीजा एक महिनाभित्र सार्वजनिक गर्नेछ । प्रारम्भिक परीक्षामा ५० प्रतिशतभन्दा बढी अंक हासिल गर्ने परीक्षार्थीले विषयगत परीक्षा दिन पाउनेछन् ।