हेटौँडाः हेटौँडा–काठमाडौं जोड्ने छिटो दुरिका अधिकांश सडक पहिरोको जोखिममा रहेका छन् । हेटौँडा–काठमाडौं जोड्ने सडकहरु मध्ये २ सडक मात्र पूर्णरुपमा संचालनमा रहेका छन् ।
अन्य सबै सडकहरु पहिरोका कारण बन्द हुने र पहिरो पन्छाएर खोल्ने काम भइरहेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार त्रिभुवन राजपथ र चित्लाङ चन्द्रगिरी सडक पूर्णरुपमा संचालनमा रहेको छ भने महेन्द्र राजमार्ग पनि पहिरोको जोखिममा रहेको छ ।
शुक्रबार रातीबाट परेको वर्षाका कारण हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ पूर्णरुपमा बन्द भएको छ भने भैँसे भीमफेदी कुलेखानी फाखेल काठमाडौं, सिस्नेरी दक्षिणकाली काठमाडौं, फाखेल चखेल मातातीर्थ सडक पहिरोको जोखिममा रहेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारी अनुसार सडकका विभिन्न स्थानमा पहिरो खसिरहेकाले जोखिम कायमै रहेको छ । पहिरो पन्छाएर सडक संचालनमा ल्याएपनि पहिरो खस्न नरोकिएको उहाँले जानकारी दिनुभएको छ ।
हेटौंडाबाट काठमाडौं जोड्ने सडकखण्डमध्ये कान्तिलोकपथ मात्र पूर्णरुपमा बन्द भएको उहाँको भनाई छ । सो सडकको मकवानपुर र ललितपुर खण्डमा पहिरोका कारण तत्काल सडक संचालनमा आउने अवस्था नरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताउनुभयो । सो सडक खण्डको मकवानपुरतर्फ भीमफेदी–८, महादेवटार र प्रतापडाँडा लगायतका क्षेत्रमा खसेको पहिरो हटाउन नसक्दा सडक सञ्चालनमा आउन नसकेको बताइएको छ । प्रवक्ता भण्डारीका अनुसार कान्तिलोकपथ सडकखण्ड आज खुल्ने सम्भावना निकै कम छ । निरन्तर वर्षा भइरहेका कारण पहिरो हटाउने काम प्रभावित भएको र धेरै पहिरो हटाउनुपर्ने भएकाले आज कान्तिलोकपथ खुल्ने सम्भावना कम रहेको उहाँले जानकारी दिनुभएको छ ।
यस्तै पहिरोका कारण शनिबार बिहानबाट बन्द भएका हेटौंडा–काठमाडौं जोड्ने छिटो दुरिका २ सडक खण्डहरु सुचारु भएको छ । पहिरो हटाएसँगै मातातीर्थ–चखेल र इन्द्रसरोवर–दक्षिणकाली सडकखण्ड सञ्चालनमा आएको छ । इन्द्रसरोवर गाउँपालिका–५, महालक्ष्मी खोला नजिकको पहिरो र इन्द्रसरोवर गाउँपालिका–२, छेपारेको पहिरो हटाएसँगै उक्त सडक खण्डहरु सुचारु भएको हो । सडक सुचारु भएपनि निरन्तर वर्षा भइरहेका कारण पहिरोको जोखिम कायमै रहेको भण्डारीले बताउनुभयो । सो सडक अन्तर्गत भैसे हुँदै भीमफेदी खण्डमा पहिरोका कारण एकतर्फी रुपमा सडक संचालन भइरहेको छ । हेटौँडा–काठमाडौं यात्राका लागि त्रिभुवन राजपथ अन्तर्गत पालुङ हुँदै जाने र चित्लाङ चन्द्रगिरी सडक प्रयोग गर्न सुरक्षा निकायले सुझाव दिएको छ ।