हेटौंडाः बागमती प्रदेशको भौतिक विकास पूर्वाधार मन्त्री रामेश्वर फुँयालले शनिबार अटोभिलेज निर्माण हुने स्थानको अवलोकन गर्नुभएको छ । बागमती प्रदेश सरकारले हेटौंडा–११, थानाभर्याङमा अटोभिलेज निर्माण गर्ने योजना बनाएको छ । शनिबार मन्त्री रामेश्वर फुँयालसहित मन्त्रालयका सचिव तेजराज भट्ट, हेटौंडा–११ का वडाअध्यक्ष गोकर्ण पराजुली, मकवानपुर अटोमोबाइल्स एसोसिएसनका पदाधिकारीले पनि प्रस्तावित क्षेत्रको अवालोकन गरेका हुन् ।
अटोभिलेजमा हेटौंडा उपमहानगरपालिकाको पनि सह–लगानी रहनेछ । अटोभिलेजको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको कार्य भैरहेको हेटौंडा–११ का वडाअध्यक्ष गोकर्णप्रसाद पराजुलीले बताउनुभयो । उहाँका अनुसार यसका लागि हेटौंडा उपमहानगरपालिकाले पनि २ करोड बजेट छुट्टाएको छ । त्यस्तै बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ मा डिपिआर सम्पन्न गर्न ५० लाख बजेट छुट्टाएको छ ।
अटोभिलेजको डिपिआर निर्माण गरेर भाद्र महिनादेखि असोज मसान्तसम्म सक्ने र कात्तिक, मंसिरमा टेन्डर हुने भएको वडाअध्यक्ष पराजुलीले बताउनुभयो । हेटौंडामा अटोभिलेज निर्माण भएपछि हेटौंडा बजारमा छरिएर रहेका साना तथा ठुला अटो ग्यारेजहरु, पार्टस पसलहरु एकीकृत हुने वडाअध्यक्ष पराजुलीको भनाई छ । जसले गर्दा सडकका छेउछाउमा सरसफाई हुनुका साथै हेटौंडा बजारको सौन्दर्य अझ बढ्ने विश्वास लिइएको छ ।