हेटौंडाः नेपाल प्रेस युनियन मकवानपुरले सोमबार पत्रकार महासंघ मकवानपुरमा धर्ना दिएको छ । पत्रकार महासंघ विधि, विधान, प्रक्रिया विपरित र सम्झौता अनुसार अघि नबढेको भन्दै देशभर युनियनले आयोजना गरेको धर्ना कार्यक्रममा मकवानपुरले पनि ऐक्यबद्धता जनाएको हो ।

युनियन मकवानपुरका अध्यक्ष सुबास विडारीको नेतृत्वमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म महासंघ मकवानपुरमा शान्तिपुर्ण रुपमा धर्ना दिएको छ । प्रेस युनियनले पत्रकार महासंघको सदस्यतामा देखिएको विवादलाई विधान अनुसार टुङ्गो लगाउन आग्रह गर्दै आन्दोलन गर्दै आइरहेको छ । पत्रकार महासंघले निर्वाचनको तालिका तोकिसकेको अवस्थामा युनियनले देशभर आन्दोलनका कार्यक्रम थालेसँगै महासंघले तत्काल निर्वाचनको कार्यक्रम अगाडि बढ्न नसक्ने र तोकिएको असार २२ गते नै निर्वाचन हुने जनाएको छ ।

प्रेस युनियन मकवानपुरले गैरपत्रकारको सदस्यता खारेज गर्न, पत्रकार महासंघ जिल्ला शाखा, प्रदेश शाखाबाट विधान, विधि, प्रक्रिया अनुसार प्रक्रिया पुगेको पत्रकारलाई सदस्य दिन लगायतका माग गर्दै शुक्रबार राति ११ बजे महासंघ मकवानपुरको कार्यालयमा तालाबन्दीसमेत गरेको थियो ।