हेटौँडाः बागमती प्रदेशको २ जिल्लामा एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन र काभ्रेपलाञ्चोक जिल्लामा एकैदिन ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
चितवन जिल्लाको रत्ननगर नगरपालिका–२ मा खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ बर्षीय सोनु तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार साँझ ५ बजेको समयमा कटरिया खोलामा माछा मार्ने क्रममा तामाङ खोलामा डुबी अचेत अवस्थामा फेला परेका थिए । तामाङ उपचारका लागि स्थानीय बकुलहर अस्पताल टाँडी लगिएकोमा बेलुका ७ बजेर ३० मिनेटको समयमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यस्तै, काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–२, टारीस्वारामा भर्याङबाट लडेर एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–७, सिरुवारी घर भई हाल टारीस्वारा बस्ने ६५ बर्षीय भिम बहादुर दर्जी रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार राती १० बजेर २५ मिनेटको समयमा आफ्नै घरको भर्याङबाट ओर्लने क्रममा लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१०, रेशममार्गमा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ बर्षीय रामकृष्ण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । आइतबार बिहान ९ बजेर ३० मिनेठको समयमा श्रेष्ठ आफ्नै घरमा चिप्लिएर लडेका श्रेष्ठ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।