हेटौंडाः जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरबाट १० महिनामा १६ हजारभन्दा बढिले सेवा प्राप्त गरेका छन् । आर्थिक वर्ष २०८०/०८१ को वैशाख महिनासम्म स्वास्थ्य केन्द्रले १६ हजार ५ सय ४८ जना सेवाग्राहीलाई सेवा प्रदान गरेको हो ।

आयुर्वेद स्वास्थ्य केन्द्रले नियमितरुपमा ओपीडी सेवा, विशेषज्ञ ओपीडी सेवा, निःशुल्क औषधी वितरण, सःशुल्क फार्मेसी सेवा, फिजियोथेरापी सेवा, अकुपञ्चर सेवा, योग परामर्श सेवा, क्रियाकलाप सेवा, पूर्वकर्म–पञ्चकर्म सेवा, क्षारसूत्र सेवा, जलौका सेवा, अग्रिकर्म सेवा र प्रयोगशाला सेवा दिँदै आएको छ । स्वास्थ्य केन्द्रमा दैनिक ७० जना सेवा लिन आउने गरेका छन् ।

केन्द्रबाट आर्थिक वर्ष २०८०/०८१ को साउन महिनामा १ हजार ९ सय ७० जना सेवाग्राहीको जाँच गरेको थियो । यस्तै, भदौ महिनामा १ हजार ६ सय ३१ जना, असोज महिनामा १ हजार ९ सय ८३ जना, कार्तिक महिनामा २ हजार १७ जना, मंसिर महिनामा १ हजार ९ सय ८३ जना, पुस महिनामा १ हजार ७ सय ३१ जनाले आयुर्वेद स्वास्थ्य सेवा प्राप्त गरेको केन्द्रका वरिष्ठ वैद्य तथ्याङ्क फोकल पर्सन प्रेमशंकर प्रसादले जानकारी दिनुभयो । माघ महिनामा १ हजार ८ सय ३२ जना, फागुन महिनामा १ हजार २ सय ५७ जना, चैत महिनामा १ हजार १ सय ९१ जना र वैशाख महिनामा ९ सय ५३ जनाले स्वास्थ्य जाँच गराएका थिए । औषधी कम भएका कारण बिरामीको चाप कम भएको भन्दै औषधी आएपछि फेरि बिरामीको चाप बढ्ने प्रसादले बताउनुभयो ।

आर्थिक वर्ष २०८०/०८१ मा केन्द्रमा १० हजार एक सय २८ जना नयाँ सेवाग्राही र पुनरावृत्त सेवाग्राही ६ हजार ३ सय ८० जना गरी १६ हजार ५ सय ८ जनाको नाम दर्ता भएको प्रसादले जानकारी दिनुभयो । यस्तै, केन्द्रको ओपीडी सेवाबाट १९ हजार एकसय ७१ जनाले स्वास्थ्य जाँच गरेका छन् । जाँच गर्नेमा ९ हजार ३ सय ६३ जना महिला र ९ हजार ८ सय ९ जना पुरुष रहेका छन् । ३ हजार ९ सय ८८ जना सेवाग्राहीले पूर्वकर्म–पञ्चकर्मको सेवा लिएका छन् । केन्द्रको शल्य चिकित्सा सेवाबाट एकसय ७२ जना लाभान्वीत भएका छन् ।

केन्द्रको योग सेवाको सुरु चरणमा ७ सय ६५ जना थिए भने योग सकिने बेला ४ सय ४२ जना मात्र रहेको प्रसादले बताउनुभयो । प्रसादका अनुसार केन्द्रको जेष्ठ नागरिक सेवाबाट एक हजार २ सय ५७ जना महिला र एक हजार एकसय ६६ जना पुरुषले सेवा लिएका छन् । जसमा ८ सय ५९ जनाले स्रेहन, ८ सय एक जनाले स्वेदनको सेवा प्राप्त गरेका छन् । केन्द्रले ७ सय ६३ जनालाई निःशुल्क रसायन औषधी वितरण गरेको छ । आयुर्वेद स्वास्थ्य केन्द्रले सेवाग्राहीलाई रोगअनुसार २३ वटा निःशुल्क औषधी प्रदान गर्ने गरेको छ ।

यस्तै, आयुर्वेद स्वास्थ्य केन्द्रले ३ सय ३५ जना स्तनपायी आमालाई निःशुल्क सहयोग गरेको छ । केन्द्रबाट ३ हजाार ३ सय ७५ जनाले नागरिक सेवा प्राप्त गरेका छन् । ९ सय ९ जनाले ल्याब सेवा पाएका छन् भने २ हजार १ सय ४८ जनाले थेरापी र १ हजार ९ सय ३७ जनाले सेवा पाएका प्रसादले बताउनुभयो । ‘पहिले सेवाग्राहीहरु अस्पताल तथा मेडिकलमा गएर रोग निको नभएपछि आउनुहुन्थ्यो’, डा. ललिता पाण्डेले भन्नुभयो– ‘अहिले आयुर्वेदलाई पहिलो प्राथमिकतामा राख्नुभएको छ ।’ स्वास्थ्य केन्द्रमा सेवासँगै सेवाग्राहीसमेत बढेका छन् भने सकारात्मक परिवर्तन आएको छ । पहिले ग्यास्ट्रिकको समस्याले मात्र आउने गरेका बिरामीहरु अहिले नशा, हाडजोर्नीजस्ता समस्याले आउने गरेको उहाँले बताउनुभयो । केन्द्रलाई स्थानीयको सहयोग रहेको उहाँको भनाइ छ ।

आयुर्वेद स्वास्थ्य केन्द्रमा डा. रमेशकुमार चौधरी, कन्सलटेण्ट डा. साइरस न्यौपाने र फिजिसियन डा. ज्योतिकुमारी शाहले जाँच गर्दै आइरहनु भएको छ । सेवाग्राही कमला तामाङका अनुसार उहाँले पहिलो प्राथमिकता आयुर्वेदलाई दिने गर्नुभएको छ । उहाँले मेडिकलभन्दा आयुर्वेद ठिक लाग्छ भन्दै सेवा गुणस्तर हुने बताउनुभयो । अर्का सेवाग्राही निकुञ्ज घिमिरेका अनुसार मेडिकलको २–३ डोज औषधीले ठिक गर्न नसकेको रोग आयुर्वेदको पहिलो डोजले ठिक पारेको छ । यस्तै, शारदा भट्टका अनुसार मेडिकलको सेवाले ठिक नगरेको रोग आयुर्वेदमा ठिक गर्न आएको बताउनुभयो । उहाँलाई आयुर्वेदमा जाँच गर्ने सेवाग्राहीले सुझाव दिएको बताउनुभयो ।

थाहा नगरपालिका, मनहरी गाउँपालिका, कैलाश गाउँपालिका, बागमती गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र बकैया गाउँपालिकामा आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको नागरिक आरोग्य केन्द्र रहेको छ । केन्द्रले १० महिनामा १ हजार ८ सय ९४ वटा घरभेट गरेको छ ।