हेटौंडाः यु–२० को जिल्ला छनोटमा मकवानपुरका २३ जना खेलाडी पर्न सफल भएका छन् । शनिबार मकवानपुर जिल्ला फुटबल संघले फेसबुक पेजमार्फत् २३ जना खेलाडीहरु जिल्लाबाट छनोट भएको जानकारी गराएको छ ।
हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा २ दिनको छनोट कार्यक्रम आयोजना गरेर २३ जनाको नाम सार्वजनिक गरिएको हो । मकवानपुर जिल्लाका एन्फा प्रशिक्षक विजयलाल श्रेष्ठको नेतृत्वमा खेलाडीहरुको प्रदर्शनी र उनीहरुको खल कौशलको आधारमा छनोट गरिएको छनोट प्रतियोगिताका संयोजक तथा जिल्ला फुटबल संघका उपाध्यक्ष युवराज लामाले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा मकवानपुर जिल्लाबाट करिब ६० जना खेलाडीहरु सहभागी भएका हुन् । लामाको संयोजनमा बकैया गाउँपालिका, बागमती गाउँपालिका, थाहा नगरपालिका, हेटौंडा उपमहानगरपालिका र मकवनपुरगढी गाउँपालिकाका खेलाडीहरु सहभागी भएको उहाँले बताउनुभयो ।
अखिल नेपाल फुटबल संघले दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कार्यक्रमअनुसार साउन ३२ गतेदेखि भदौ २ गतेसम्म हुन लागेको एसियन क्वालिफाइ प्रतियोगिताका लागि विभिन्न जिल्लाहरुलाई खेलाडी छनोट गर्ने निर्देशन दिएको प्रतियोगिता संयोजक तथा उपाध्यक्ष लामाले बताउनुभयो । जिल्लाबाट छनोट हुने २३ जना खेलाडीहरुलेआज सोमबारदेखि सुरु हुने प्रदेशस्तरीय प्रतियोगितामा बागमती प्रदेशको १३ जिल्लाका खेलाडीहरुसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । प्रदेशबाट छनोट हुने खेलाडीहरु केन्द्रीयस्तरको प्रतियोगितामा सहभागी हुँदै एसियन क्वालिफाइ प्रतियोगितामा सहभागी जनाउन पाउनेछन् । जिल्लाबाट छनोट हुने खेलाडीहरुले यातायात खर्च आफैँले व्यहोर्र्नुपर्नेछ ।