हेटौंडाः बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट सडक पूर्वाधार विकासलाई व्यवस्थित गर्न गुरुयोजना निर्माण गरेर अघि बढ्ने भएको छ । प्रदेश सरकारले बजेट विनियोजनलाई व्यवस्थित गर्दै लगानी आकर्षित गर्ने उद्देश्यअनुसार प्रादेशिक सडक गुरुयोजना कार्यान्वयन गर्ने तयारी गरेको हो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा सडक तथा पुल निर्माणलाई व्यवस्थित गर्न उक्त गुरुयोजना कार्यान्वयन गर्ने तयारी गरेको हो । सरकारले वर्षेनि तर्जुमा गर्ने नीति, कार्यक्रम र बजेटमा सडक पूूर्वाधार विकासलाई प्राथमिकता दिने गरी गुरुयोजना निर्माण गरिएको छ । विकासका बहानामा अव्यवस्थित रुपमा भइरहेको सडक खन्ने कामलाई पनि प्रादेशिक सडक गुरुयोजनाले नियन्त्रण गर्न भूमिका खेल्ने भौतिक पूर्वाधार विकास मन्त्रालयको विश्वास रहेको छ ।

प्राविधिक अध्ययनबिना जथाभावी सडक खन्ने क्रमभंग गरी वातावरणीय विनाश तथा विपद् जोखिमलाई नियन्त्रणमा महत्वपूर्ण हुने देखिएको मन्त्रालयको भनाइ छ । सुरुवातदेखि नै सडक पूर्वाधार विकासमा जोड दिँदै आएको बागमती प्रदेश सरकारको गत जेठ २२ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश सडक गुरुयोजना स्वीकृत गरेको थियो । सडक निर्माण, विस्तार र मर्मत तथा अन्य कुराको क्षेत्राधिकार स्पष्ट नहुँदा समस्या भइरहेको अवस्थालाई व्यवस्थित गर्न सो गुरुयोजनाले महत्वपूर्ण भूमिका खेल्ने भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल ‘शरद’ले जानकारी दिनुभयो ।

कतिपय सडक निर्माणमा संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारको बजेट लगानी भइरहेको र उक्त असन्तुलनलाई गुरुयोजनाले नियन्त्रण गर्नेछ । सुरुवातिदेखि नै प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले विभिन्न स्थानीय र ग्रामीण सडक र केही प्रादेशिक सडक निर्माण तथा स्तरीकरणमा ठूलो रकम खर्च गर्दै आएको र त्यसको प्रतिफल प्राप्त हुन नसकेको मन्त्री दुलालको भनाइ छ । बिना योजना वर्षेनि जथाभावी सडक निर्माण र स्तरीकरणमा खर्च भइरहेकाले त्यसलाई मितव्ययी बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो ।

प्रदेश सरकारले प्रादेशिक गुरुयोजनाअन्तर्गत २ वटा सडक आयोजनाहरुमा विभाजन गरी विकास गर्ने तयारी गरेको छ । प्रदेश सरकारले प्रादेशिक सडक आयोजनाअन्तर्गत प्रदेश लोकमार्ग र प्रदेश मार्गको रुपमा विकास गर्ने तयारी गरेको छ । प्रदेश सरकारले प्रदेशका १३ जिल्लाका २५० वटा सडक पूर्वाधारमा लगानी केन्द्रित गर्नेगरी प्रादेशिक सडक गुरुयोजना कार्यान्वयनमा ल्याएको मन्त्री दुलालले बताउनुभयो । उहाँका अनुसार सरकार प्रादेशिक सडक गुरुयोजनामा प्रदेश मार्ग र प्रदेश लोकमार्ग निर्धारण गरी लगानी केन्द्रित गर्ने र स्तरीय, सुरक्षित सडकको रुपमा विकास गर्ने मोडलमा अघि बढेको हो ।

उक्त गुरुयोजनाअन्तर्गत प्रदेश सरकारले २० वटा प्रदेश लोकमार्ग र २३० वटा प्रदेश मार्गहरु छनौट गरी बजेट विनियेजन गरिएको उहाँले बताउनुभयो । प्रदेश सरकारले सो गुरुयोजनाअन्तर्गतका सडक पूर्वाधार निर्माणका लागि ७ अर्ब ७८ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको र सो बजेट प्रदेश लोकमार्ग, प्रदेश मार्गमा समेटिएका ८० प्रतिशत आयोजनामा खर्च गर्ने मन्त्री दुलालले बताउनुभयो ।

सो सडक आयोजनाभन्दा बाहेक अन्य कुनै पनि आयोजनामा प्रदेश सरकारले लगानी नगर्ने, गरेको खण्डमा स्थानीय तहसँगको समन्वयमा सम्बन्धित पालिकाले नै खर्च गर्नेगरी रकम उपलब्ध गाउने तयारी रहेको उहाँले बताउनुभयो । प्रदेश सरकारले जनशक्ति व्यवस्थापन, बजेट परिचालन र विकासको मुल प्रवाह तथा उपलव्धीका विषयमा केन्द्रित भएर बजेटमा प्रादेशिक सडक गुरुयोजना कार्यान्वयन गरेको उहाँले बताउनुभयो ।

मर्मत तथा सुधारका काम सबै आयोजनामा लगानी गर्ने र प्राथमिकताको आधारमा पक्की, स्तरीय सडक निर्माणमा काम गर्ने सरकारको रणनीति रहेको छ । दातृ संस्थाहरुको सहयोगलाई आकर्षित गर्न पनि सो गुरुयोजना अत्यन्त फलदायी रहने उहाँको भनाइ छ । दातृ निकायको आग्रह र सल्लाहअनुसार प्रदेश सरकारले गुरुयोजना निर्माण गरेको मन्त्री दुलालले बताउनुभयो ।

मन्त्री दुलालका अनुसार प्रादेशिक सडक गुरुयोजना निर्माणका लागि कार्यविधि निर्माण गरी सो कार्यविधिले तोकेको मापदण्डअनुसार प्रदेश सरकारले सडक योजनाहरु छनौट गरेको हो । प्रादेशिक सडक ऐनले तोकेको मापदण्डअनुसार सडक निर्माण तथा स्तरोन्नति र विकासको काम क्रमशः अघि बढाउने उहाँले बताउनुभयो । प्रदेश सरकारले प्रदेश लोकमार्गअन्तर्गत भैंसे भीमफेदी कुलेखानी सिस्नेरी काठमाडौं सडकलाई ‘राजधानी मार्ग’, मनहरी आदमघाट सडक, झुरझुरे तालढुंगा सडक ‘जनमुक्ति मार्ग’, चौतारा सिपाघाट काठमाडौं सडक, मुढे मैलुङ सडक, धादिङबेसी तिप्लाङ स्याफ्रुवेसी सडक ‘दमन पाख्रिन मार्ग’, दोलालघाट चौरीदेउराली गुराँसे गाल्वा मन्थली सडक, सिन्धुलीमाडी चकमके कटारी सडक, पालुङ चित्लाङ थानकोट ‘गणेशमान मार्ग’लगायत रहेका छन् ।

प्रदेश मार्गअन्तर्गत काठमाडौं चित्लाङ सडक ‘इन्द्रसरोवर मार्ग’, कुलेखानी फाखेल, मातातीर्थ काठमाडौं सडक ‘चन्द्रागिरी मार्ग’, सिमातघुम्ती जुरेली धियाल निजगढ सडक, कुलेखानी फाखेल काठमाडौं सडक, मनहरी चैनपुर, धादिङबेसी सुनौलो बजार खोस्रेटार गल्छी सडक, बागमती बख्पर सडक, चौतारा नवलपुर मेलम्ची सडक, हेटौंडा चक्रपथ, लेले चन्दनपुर ठूला दुर्लुङ सडक, बगुवा प्युटार आर्साङ गिम्की सडक, जिरोकिलो अम्बास भोर्ले पञ्चाङ दोक्लाङ सडक, चैनपुर खैरहनी खयरघारी सडकलगायत रहेका छन् ।