हेटौँडाः बागमती प्रदेशसभा बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ । बिहीबार दिउँसो ३ बजे बस्ने तय गरिएको बैठक दलहरुबीच सहमति हुन नसकेपछि सूचना टाँस गरी स्थगित गरिएको हो ।

बजेट माथिको छलफलका लागि बिहिबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रतिपक्षी दलको अवरोधसँगै बैठक ३ बजेका लागि स्थगित गरिएको थियो । बैठक स्थगित गरी दलहरु छलफलमा जुटेका थिए । दलहरु बीचको बैठकमा सहमति जुट्न नसकेपछि प्रदेशसभाको बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक रत्न प्रसाद ढकालले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार प्रदेश सरकारको बजेट सन्तुलित नभएको र दलीय रुपमा बजेटका विषयमा भएका सहमति कार्यान्वयन नभएको भन्दै प्रदेश सभामा प्रतिपक्षी दलले अवरोध गरेका थिए । बजेटमा भएका असन्तुलन र त्रुटिलाई सच्याउने तथा प्रदेश सभाको बैठक संचालनको विषयमा दलका नेताहरु छलफलमा रहेको उहाँले जानकारी दिनुभएको छ ।

बैठकमा सहभागी नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद शर्मा खनालका अनुसार बिहिबार बसेको सर्वदलीय बैठकले बजेटको कमिकमजोरी पक्षलाई सुधार गर्ने र छुटेका विषयलाई समेट्ने विषयमा छलफल गरेको थियो । उक्त विषयहरु समेटेर बजेटलाई सन्तुलित र व्यवस्थित बनाउने गरी सरकारले तयारी गरेको खनालले बताउनुभएको छ ।