हेटौंडाः आगामी असार १४ गते विद्यालयस्तरीय खुला मुक्तक प्रतियोगिता हुनेभएको छ । मुक्तक मञ्च मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाको सहयोगमा विद्यालयस्तरीय खुला मुक्तक प्रतियोगिता हुने भएको हो ।

मंगलबार विभिन्न विद्यालयहरुमा विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागी गराउनका लागि सूचना प्रकाशन गरिएको मञ्चका अध्यक्ष सागर तिमल्सिनाले जानकारी दिनुभएको छ । प्रतियोगितामा मकवानपुरको विभिन्न विद्यालयहरुका विद्यार्थीहरुले सहभागिता जनाउन पाउने अध्यक्ष तिमल्सिनाले बताउनुभयो ।

प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरुले असार १० गतेभित्र वडा कार्यालय, किताबघर र गुडविल कम्प्युटरमा मुक्तक बुझाउनुपर्ने बताउनुभयो । विद्यार्थीहरुले पठाएको मुक्तकबाट प्रतियोगिताका लागि छनोट समितिले छनोट गर्नेछ ।

प्रतियोगितामा विभिन्न विद्यालय र कलेजबाट ८ कक्षादेखि १२ कक्षासम्मका विद्यार्थीहरु सहभागी हुन पाउने उहाँले बताउनुभयो । सहभागी हुने विद्यार्थीहरुले यसअघि कुनै पनि स्थानीय पत्रिका एवम् अनलाइन पत्रिकामा सार्वजनिक नभएको मुक्तक बुझाउनुपर्ने उहाँको भनाइ छ । प्रतियोगिताका लागि छनोट भएका विद्यार्थीहरुले असार १४ गते हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा मुक्तक बाचन गर्नुपर्नेछ ।

बाचन शैली र अन्य आधारमा नतिजा सार्वजनिक गरिने जनाइएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेहरुलाई क्रमशः ३ हजार रुपैयाँ, २ हजार रुपैयाँ, एक हजार रुपैयाँ र सान्त्वना हुने दुई जनाले ५–५ सय रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । विद्यार्थीहरुले मुक्तकलाई इमेलमार्फत् पनि पठाउन सक्नेछन् । प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरुले सहभागीको प्रमाणपत्रसमेत प्राप्त गर्नेछन् ।