ज्ञापनपत्र हस्तान्तरण गरिँदैको तस्वीर ।

हेटौंडाः नगरस्तरीय युवा सञ्जाल हेटौंडाले युवा लक्षित कार्यक्रम समावेश गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सञ्जालका संयोजक विष्णुहरि मिश्रले हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलमार्फत् सामाजिक विकास महाशाखालाई ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको हो ।

ज्ञापनपत्रमा सञ्जालले ४ बुँदे माग समावेश गरेको छ । स्थानीय सरकारको बजेट विनियोजनमा युवा लक्षित कार्यक्रम समावेश गर्र्न र स्थानीय अनुकूलन कार्ययोजना निर्माण गर्न आवश्यक सहयोग तथा समन्वय गर्न माग गरिएको छ । युवामैत्री स्थानीय शासन कार्यविधि निर्माण र सोको कार्यान्वयन स्थानीय तहमा हुनुपर्ने माग गरिएको छ । सञ्जालले युवा स्वरोजगार तथा वातावरण संरक्षणको निमित्त स्थानीय तहमा हरित उद्यम कार्यविधि निर्माण गर्नसमेत माग गरेको छ ।

नगरस्तरीय युवा सञ्जाल, हेटौंडाका युवाहरुले सामूहिक छलफलपछि पालिकालाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र पेश गरेको मिश्रले बताउनुभयो । वातावरणीय प्रभाव निराकरण, युवा सशक्तिकरण, हरित उद्यममा युवालाई समावेश गराउने उद्देश्यका साथ पालिकालाई अनुरोध गरिएको हो । सञ्जालले विगत एक वर्षदेखि वातावरण संरक्षण तथा जलवायु परिर्वतनका विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया, विद्यालयस्तरीय कार्यक्रम गर्दै आएको छ ।