हेटौंडाः नवप्रवेशी प्राथमिक तहका शिक्षकहरुका लागि सेवा प्रवेश तालिम सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको आयोजनामा शुक्रबारदेखि सुरु भएको ३ दिने तालिम आइतबार सम्पन्न भएको इकाईका प्राविधिक सहायक तथा तालिम संयोजक सरला अधिकारीले जानकारी दिनुभयो ।
गत चैत २५ गते नयाँ नियुक्ति लिएका ३७ जना शिक्षकहरुका लागि तालिम आयोजना गरिएको हो । तालिममा शिक्षकहरु विद्यार्थीसमक्ष कसरी प्रस्तुत हुने, कसरी पढाउने, विषयवस्तुको प्रस्तुतिकरण, शिक्षा ऐन–नियम, सरुवा, बढुवालगायत विषयमा सहजीकरण गरिएको अधिकारीले जानकारी दिनुभयो । तालिममा ३० जना शिक्षकको उपस्थिति थियो ।
शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमको सभाध्यक्षतामा तालिमको समापन गरिएको हो । तालिममा सहभागी शिक्षकहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । तालिममा अंग्रेजी, नेपाली, सामाजिक, विज्ञान र गणित विषयका ५ जना विषयगत शिक्षकसहित ७ जनाले सहजीकरण गर्नुभएको थियो ।