भारतमा भर्खर सम्पन्न लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) का नरेन्द्र मोदी लगातार तेस्रो चोटी निर्वाचित प्रधानमन्त्री भएका छन् । “अबकिबार ४०० पार” भन्ने नारा सार्थक हुन सकेन । भारतीय मिडियाले प्रक्षेपण गरेका एक्जिटपोल पूर्णतः असफल देखियो । भाजपाले एकल सरकार बनाउन पुग्ने बहुमत ल्याउन सकेन । नरेन्द्र मोदीले अब नेसनल डेमोक्रेटिक अलायन्स (एनडिए) सरकारको नेतृत्व गर्दै नयाँ सरकार निर्माण गरेका छन् । अबको सरकार मोदिका लागि त्यति सहज छैन । २०१९ मा भएको निर्वाचनमा ३७.३६% भोट पाएर ३०३ सिट एकल जितेको भाजपा यसपालि २४० सिटमा खुम्चियो । एकल बहुमत नहुँदा सहयोगी दलको सहारामा बन्ने सरकार साझा भावना र कार्यक्रममा हिँड्नुपर्ने बाध्यता रहिरहन्छ । तसर्थ एनडिएको वर्तमान सरकारको सामु चुनौतिको पहाड छ । गठबन्धनमा बिहारका नितिश कुमारको जनता दल (युनाइटेड) र आन्ध्र प्रदेशका चन्द्रबाबु नायडूको तेलगू देशम पार्टी समावेश छ ।
मोदिलाई आफ्नो गठबन्धन रिझाएर सत्तायात्रा गर्न त्यति सजह होला त ? आफ्ना घोषणापत्रका थुप्रै कार्यक्रम अब कसरी अघि बढ्ला सबैको कौतुहलता यसैमा छ । नयाँ मन्त्रीपरिषदले निरन्तरता र सतर्कताको नीति अबलम्बन गरेको छ । राजनीतिक परिस्थिति स्थिर छ र त्यसमा आफ्नो नियन्त्रण छ भन्ने देखाउन मोदीले आफ्ना धेरै पुराना साथिहरु र अनुभवी सहयोगीहरूलाई राखेका छन् । आफ्नो पार्टीभित्र कुनै किसिमको बिवाद वा जोखिम उठाउन चाहँदैनन् मोदि । उनी नयाँ सहयोगीहरूसँग नयाँ राजनीतिक परिस्थितिलाई स्थिरता र भरोसायोग्य बनाउन खोजिरहेका छन् । टीडीपी (१६ सांसद) र जनता दल युनाइटेड (१२ सांसद) प्रमुख खेलाडी वर्तमान सरकारमा निर्णायकरुपमा उभिएका छन् । यिनलाई विश्वासमा लिएर हिँड्नु पर्नेछ । यद्यपि यि दुवैसँग संयुक्त मोर्चा सरकार र तत्कालिन वाजपेयी नेतृत्वको एनडीए सरकारमा शासन गरेको लामो अनुभव छ ।
प्रधानमन्त्री मोदी गठबन्धनलाई साथ लिएर सहयोगी दलबाट आफ्ना कार्यक्रम अनुमोदन गराउन कठिन नै देखिन्छ । सहयोगीहरूले अग्निपथ योजनाको समीक्षाका लागि जोड दिइरहेका छन् । जुन उत्तरी राज्यहरूमा भावनात्मक चुनावी मुद्दाकोरूपमा देखापरेको थियो । त्यस्तै गठबन्धन दलको कारण समान नागरिक संहिता खारेज हुने सम्भावना छ । अब ‘एकराष्ट्र, एक निर्वाचन’ कार्यान्वयन गर्न गाह्रो हुन सक्छ । त्यस्तै राष्ट्रिय जातीय जनगणनाका लागि नितिशकुमारको मागलाई बीजेपीले कस्तो व्यवहार गर्छ त्यो पनि हेर्न बाँकी छ । हिन्दू–मुस्लिम बयानबाजी पनि कम्तिमा केही समयका लागि पछाडी पर्न सक्छ । टीडीपीले पहिले नै स्पष्ट गरिसकेको छ कि आन्ध्र प्रदेश (ओबीसी कोटा अन्तर्गत) मा मुस्लिमहरूका लागि ४ प्रतिशत आरक्षण छोड्ने कुनै मनसाय छैन ।
चुनावी अभियानका क्रममा भाजपाले मुस्लिमहरूलाई धर्मका आधारमा आरक्षण दिने विषयमा कडा हमला गरेको थियो । यि विषयको संयोजन व्यवस्थापन हेर्न बाँकी छ भने अर्को तर्फ भारतीय लोकसभा हिजो जस्तो प्रतिपक्ष कमजोर रहेको अवस्था होईन । भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको “इन्डिया” गठबन्धन बलियो प्रतिपक्षकारूपमा उदाएको छ ।
एनडिए गठबन्धन अंहकारपूर्ण धङधङीबाट अलिकति तल झर्नु र इन्डिया गठबन्धनको प्रभावशाली उदयलाई भारतीय राजनीतिमा अर्थपूर्णरुपमा हेरिएको छ । कांग्रेसले गठबन्धन गर्दा ठूलो उदारता देखायो । धेरै ठाउँमा सहयोगी दललाई छोडिदिएको छ । ईन्डिया गठबन्धन २३३ सिट जित्दा कंग्रेसले ९९ सिटमा जीत हासिल गर्यो । नरेन्द्र मोदीको लोकप्रियताबाट तर्सेका विरोधिहरुले मोदीलाई लोकतन्त्र माथि बलियो विश्वास नभएको आरोप लगाए । यिनमा ठूलो दम्भ बढ्यो म नै राज्य हुँ भन्न थाल्यो भन्नेसम्मको आरोप सुनिन थाल्यो भने अर्कोतर्फ “मोदी भए सबै सम्भव छ” भन्ने नयाँ भाष्य निर्माण गरेर भाजपाका एकथरि धार्मिक कट्टरतावादले मोदिको देवत्वकरण गर्यो । यो गएको पाँच बर्षमा देखिएको परिघटना हो । मोदीले दैवि कारणले आफू पृथ्वीमा अवतरित भएको भन्नसम्म भ्याए । आफ्नो जन्म जैविक नभएर ईश्वरीय शक्तिकोरुपमा आएको व्याख्या गरे यिनको अंहकार चरम सीमामा पुग्यो भनेर यि विषयलाई ठूलो चर्चामा ल्याईयो ।
यिनलाई सर्वसत्तावादीको आरोप लगाईयो, मुस्लिम भोटर हिन्दु भित्रको दलित अन्य साना जातलाई आरक्षण खारेज गर्दैछ भन्ने जबर्जस्त प्रचार गरियो । जनसंख्या नियन्त्रणसम्बन्धी कडा कानूनी मुद्दा भजाईयो फलतः भाजपाको अपेक्षाकृत नतिजा आउन सकेन । अयोध्यामा राम मन्दिर निर्माणपछि हिन्दुत्वको लहर देखिएको थियो तर बिडम्बना अयोध्या फैजावाद निर्वाचन क्षेत्रमा पर्छ त्यस क्षेत्रमा भाजपाको उम्मेदवार पराजित भए । राम मन्दिरले पनि साथ दिएन यसपालि । यसै पृष्ठभूमिमा कंग्रेसले संविधान र लोकतन्त्र रक्षाको नारालाई उठायो । राहूल गान्धी “भारत जोडो” यात्रामा निस्किए, कश्मिरदेखि कन्याकुमारीसम्म । यात्राको क्रममा उनले पटक–पटक भन्ने गर्थे यो यात्रा भारतको टुटेको सामाजिक सम्बन्धलाई जोडने र सहिष्णुतापूर्ण राजनीतिलाई पूनर्जिवन दिने उद्देश्यले गरिएको हो भन्थे ।
एकातिर मोदीलाई सर्वसत्तावादी लोकतन्त्रको विरोधि भन्ने अर्कोतिर यात्राको सन्द्रर्भमा भारतीय सामाजिक सम्बन्धको आधारशीला खोज्न हिँडेको भन्थे । यिनको दौडाहा सफल सावित भयो अघिल्लो लोकसभामा ५२ सिट हासिल गरेको कांग्रेसले यो पटक एक्लैले ९९ सिट प्राप्त गर्यो । कांग्रेसको मिहिनेत त देखियो नै । यिनले ईन्डिया गठबन्धनलाई २३३ सिटमा पुर्याए । भाजपाको तुफानी दौडलाई बहुमतमा आउन रोकेर गठबन्धनमा झारिदिए । भारतीय लोकसभाको दृश्य बदलिएको छ । भाजपा ठूलो पार्टीको रुपमा एक्लैले २४० सिट प्राप्त गरेर भारतीय राजनीतिमा अग्रणी दल भएको छ । कुनै बेला लोकसभा जम्मा २ सिट जितेको पार्टी आज लामो संघर्ष, कुशल संगठन, हिन्दूत्वको नारा, विकासको अभियान, सबका साथ सबका विकाससहित आज यो मुकाम आइपुगेको छ । उसले वर्तमान निर्वाचनबाट आत्म समीक्षा गर्दै ठूलो पाठ सिक्न जरुरी छ । सनातन धर्मावलम्बीहरुका लागि भाजपा आदर्श राजनीतिक दल हो । यो कमजोर हुँदा देशको मौलिकता हराएर जान्छ । अस्तू