हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ का लागि बजेटको आकार घटाएको छ । उपमहानगरपालिकाले चालू आर्थिक बर्षको बजेट भन्दा ४६ करोड ७२ लाख २९ हजार रुपैयाँ (१६.०७ प्रतिशत) कम बजेट ल्याएको हो ।
उपमहानगरपालिकाले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्न २ अर्ब ४३ करोड ८९ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ५३ करोड २७ लाख ९५ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ६१ करोड ६५ लाख ८६ हजार रुपैयाँ, प्रदेश सरकारको विभिन्न अनुदानबाट ११ करोड १७ लाख ३९ हजार रुपैयाँ र संघीय सरकारको अनुदानबाट १ अर्व १६ करोड ५३ लाख रुपैयाँ व्यहोरिने अनुमान गरिएको छ ।
आइतबार प्रस्तुत भएको बजेटमाथि यही असार १० गते बस्ने बैठकमा नगर सभा सदस्यले छलफल गर्नेछन् । नगर उपप्रमुख राजेश बानियाँले आज (आइतबार) प्रस्तुत भएको बजेटमाथि नगरसभा सदस्यले असार १० गते बस्ने बैठकमा आफ्ना धारणा, सल्लाह, सुझाव राख्ने कार्यक्रम तयर गरिएको जानकारी गराउनुभएको छ ।
बजेटको प्राथमिकता
हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक बर्षको बजेटको प्राथमिकतामा आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने, उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्ने, जनताको जीवनस्तर, आम्दानी र रोजगारी बढ्ने जनाएको छ । स्थानीय सहभागिता जुट्ने, स्वयंसेवा परिचालन गरी लागत न्यूनीकरण गर्ने, स्थानीय स्रोत, साधन र सीपको अधिकतम प्रयोग हुने, महिला, बालबालिका तथा पिछडिएका क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने, लैङ्गिक समानता र सामाजिक समावेशीकरण अभिवृद्धि हुने बजेटको प्राथमिकताको क्षेत्र निर्धारण गरिएको छ ।
समावेशी र दिगो विकास, वातावरणीय संरक्षण तथा सम्बद्र्धन गर्न सघाउ पुर्याउने, भाषिक तथा साँस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पुर्याउने, शिक्षा, स्वास्थ्य क्षेत्रको गुणस्तरीयता एवम् सवलीकरण, सबै प्रकारका सामाजिक विभेद अन्त्य भएको मानवताको सहर स्थापना गर्ने बजेटको प्राथमिकता रहेका छन् ।
बजेटका उद्देश्य
उपमहानगरपिालिकाको बजेटले विकासका लागि आर्थिक, सामाजिक, भौगोलिक पूर्वाधारहरु खडा गर्ने, शासनमा सुधार र सेवा प्रवाहमा जनताको सहज पहुँच वृद्धि गर्ने, आन्तरिक क्षमता विकास र सुदृढीकरणमा जोड दिने, सन्तुलित एवम् दिगो समावेशी विकासको अवधारणालाई आत्मसात गर्ने उद्देश्य रहेको छ । गरिबी न्यूनीकरण तथा जनजीविकामा टेवा पुर्याउने, समृद्ध नगर सुखी नगरवासीको अवस्था हासिल गर्ने उद्देश्यका साथ उपमहानगरपालिकाले बजेट तर्जुमा गरेको जनाएको छ ।
यस्तो छ हेटौंडाको बजेट कार्यक्रम
उपमहानगरपालिकाले आगामी आर्थिक बर्षमा हेटौँडा–१० मा निर्माणाधीन एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण सम्पन्न गरी सञ्चालन गर्न ६ करोड बजेट विनियोजन गरिएको छ । सहरी सडक मर्मत सम्भारका लागि सडक बोर्ड नेपालसँगको लागत साझेदारीमा योजना सञ्चालन गर्न १ करोड ७० लाख विनियोजन गरेको छ भने विभिन्न पूर्वाधारको आकस्मिक मर्मत सम्भारका लागि मर्मत सम्भार कोषमा १ करोड ५० लाख विनियोजन रुपैयाँ विनियोजन गरेको छ ।
संघ तथा प्रदेश सरकारको लागत, सहयोग तथा समन्वयमा कर्रा करिडोर निर्माणको निरन्तरताका लागि आवश्यक व्यवस्था गरिएको उपप्रमुख राजेश बानियाँले बताउनुभएको छ । जिम्मेवारी सर्ने योजनाको भुक्तानीका लागि १७ करोड रुपैयाँ व्यवस्था गरिएको छ भने पदमपोखरी मुख्य सडक विस्तार कार्यका लागि ७ करोड रुपैयाँ विनियोजन गरेको छ ।
उहाँका अनुसार हेटौँडा खानेपानी व्यवस्थापन बोर्डसँग साझेदारी कार्यक्रम, न्यूनतम महसुल भुक्तानी लगायतका कार्यका लागि लागि २ करोड ८ लाख रुपैयाँ, नगरपालिकाको प्रशासनिक भवनमा लिफ्ट जडान, पर्खाल एवम् चमेनागृह निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
उपमहानगरपालिकाले आगामी आर्थिक बर्षमा नागस्वती फुटबल स्टेडियम निर्माणका लागि १ करोड ७२ लाख रुपैयाँ, संघीय सरकारबाट हेटौंडा चक्रपथअन्तर्गत वडा नम्बर १५, १६, १७ को सडक खण्डको स्तरोन्नति गर्न २ करोड रुपैयाँ, चाइनाक्वाटरबाट राप्ती बाइपास जोड्ने सडकका लागि १ करोड रुपैयाँ, नेवारपानी गुम्बाटोल हुँदै गालछारांग–लिक्चे कैलाश, हेटौँडा कैलाश राक्सिराङ जोड्ने सडकका लागि २ करोड रुपैयाँ, बिपि मार्ग स्तरोन्नतिका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
उपमहानगरपालिकाले पूर्वाधार विकास क्षेत्रभित्र पर्ने सडक, उर्जा, सडकबत्ति, जलस्रोत, पर्यटन, भवन तथा आवास, सिँचाईलगायत नगर स्तरीय पूर्वाधार तर्फ ८८ करोड ८६ लाख ९९ हजार रुपैयाँ बजेट विनियोजन गरेको उपप्रमुख बानियाँले बताउनुभयो । आगामी आर्थिक बर्षमा उपमहानगरपालिकाले उद्योग, सहकारी तथा लघु उद्यमतर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न ६९ लाख ९९ हजार रुपैयाँ, पर्यटन तर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको उहाँको भनाई छ ।
त्यस्तै संस्कृति प्रवद्र्धनअन्तर्गत पूर्वाधार निर्माण मर्मत तथा जिर्णोद्दारका लागि १ करोड १६ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीका लागि १ करोड २७ लाख ७१ हजार रुपैयाँ, आर्थिक विकास क्षेत्रभित्रका चालु कार्यक्रम र पुँजीगत योजना तथा कार्यक्रमका लागि ७ करोड ५६ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
उपमहानगरपालिकाले आगामी आर्थिक बर्षमा शिक्षक बैंक, मोवाईल शिक्षक, सिल्भर स्वयम्सेवक, सुनौलो शुक्रबार कार्यक्रमका लागि आवश्यक बजेट व्यवस्था गरिएको उपमेयर बानियाँले बताउनुभयो । शिक्षा तर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न ७३ करोड २७ लाख २६ हजार रुपैयाँ र आन्तरिकतर्फ ४ करोड ४५ ७२ लाख २६ हजार रुपैयाँ विनियोजन गरिएको छ भने हटिया र पदमपोखरीस्थित आधारभूतं अस्पताललाई स्वास्थ्य बीमामा आवद्ध गरी सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ । स्वास्थ्य तर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न सशर्त समेत गरी ७ करोड ६९ लाख ६२ हजार रुपैयाँ तथा युवा तथा खेलकुदसँग सम्बन्धित कार्यक्रमका लागि कुल १ करोड ८२ लाख बजेट विनियोजन गरिएको छ ।
उपमहानगरपिालिकाले फोहरमैला व्यवस्थापन र ढल तथा नाला पूर्वाधारतर्फका योजना तथा कार्यक्रमका लागि २ करोड १६ लाख विनियोजन गरेको छ । वातावरण तथा विपद् व्यवस्थापन एवम् सरसफाई र फोहरमैला व्यवस्थापनका चालु कार्यक्रम र पुँजीगत योजना तथा कार्यक्रमका लागि कुल ३ करोड १२ लाख ७० हजार विनियोजन गरेको छ ।