हेटौँडाः बागमती प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेट आज शनिबार सार्वजनिक हुँदैछ । प्रदेशसभाको आज शनिबारबस्ने बैठकमा बजेट सार्वजनिक हुने कार्यसूचि रहेको छ ।
बजेट प्रस्तुत गर्न प्रदेशसभाको बैठक दिउँसो ४ बजेका लागि आह्वान गरिएको छ । उक्त बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बजेट प्रस्तुत गर्नुहुनेछ । प्रदेश सरकारले चालु आर्थिक बर्षको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकाले आर्थिक संकुचनका कारण राजस्व संकलन दर न्यून रहेको भन्दै चालु आर्थिक बर्षकै हाराहारीमा आगामी आर्थिक बर्षको बजेट ल्याउने तयारी गरेको हो ।
आर्थिक मामिला तथा योजना मन्त्री थपलियाका अनुसार प्रदेश सरकारको आयस्तरलाई अधिकतम प्रयोग गरी बजेट निर्माण गरिएको छ । प्रदेश सरकारको आन्तरिक आय र संघीय सरकारबाट प्राप्त हुने अनुदान बापतको रकमसमेत कटौती भएकाले बजेट केही प्रभावित हुने मन्त्री थपलियाको भनाई छ । कर, दस्तुर र संघीय सरकारले दिने अनुदानसमेत कटौती भएकाले पनि चालु आर्थिक बर्षको हाराहारीमै बजेट ल्याउने उहाँले बताउनुभएको छ ।
उहाँका अनुसार प्रदेश सरकारले परम्परागत शैलीलाई तोडेर नागरिकमैत्री बजेट निर्माण गरिरहेको छ । सोही अनुसार मन्त्रालयले आम नागरिकको आवश्यकतालाई मध्यनजर गरेर बजेट तर्जुमा गरिएको उहाँले बताउनुभयो । ठुला र बृहत् प्रकृतिका योजनासँगै जनताका जीवनस्तरसँग जोड्ने कार्यक्रम आगामी बर्षको बजेटमा समावेश हुने उहाँको भनाइ छ । उत्पादन र उत्पादकत्व वृद्धि, आर्थिक उपार्जन, उद्यमशीलता विकास, रोजगारी र सीपजस्ता क्षेत्र सरकारको प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।
शिक्षा, स्वास्थ्य क्षेत्रको गुणस्तर कायम गर्न र आधारभूत आवश्यकता पूर्ति तथा सुशासनका क्षेत्रमा सरकारले लगानी गर्ने तथा रोजगारी सिर्जना सरकारको विशेष प्राथमिकताको क्षेत्र रहेकाले कृषि, पर्यटन, उद्योग लगायतको क्षेत्रमा लगानी बढाउने उहाँले बताउनुभएको छ । प्रदेश सरकारले बजेटलाई विवादरहित बनाउन प्रति सांसद ३ करोड रुपैयाँको योजना बजेटमा समावेश गर्ने तयारी गरेको छ । प्रदेश सरकारले चालु आर्थिक बर्षका लागि ६२ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।